मकवानपुरको राक्सिराङ गाउँपालिकाले एक विद्यालयमा एक ल्यापटप कार्यक्रम कार्यान्वयन गर्दैछ । गाउँपालिकाको वार्षिक योजना अनुरुप ३ वर्षदेखि विद्यालयलाई ल्यापटप वितरण गर्दै आएको छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख पासाङ तामाङका अनुसार पालिकाले आर्थिक वर्ष २०७७/७८ मा ७ वटा विद्यालयलाई ल्यापटप वितरण गरेको थियो ।

आर्थिक वर्ष २०७८/०७९ मा ५ वटा विद्यालयलाई ल्यापटप वितरण गरेको राक्सिराङ गाउँपालिकाले चालु आर्थिक वर्षमा ७ वटा विद्यालयलाई ल्यापटप वितरण गर्ने तयारी गरेको छ । ५४ वटा विद्यालय रहेको पालिकामा ५२ वटा सामुदायिक विद्यालय रहेका छन् भने २ वटा संस्थागत विद्यालय रहेका छन् । राक्सिराङमा ६ वटा माध्यमिक तहका विद्यालय रहेकोमा २ वटा विद्यालयमा १२ कक्षासम्म अध्यापन हुने गरेको छ ।

गाउँपालिकामा चालु शैक्षिक सत्रमा छात्रा ३ हजार ४ सय ८८ जना र छात्र ३ हजार ४ सय १३ जना गरी ६ हजार ९ सय १ जना विद्यार्थी भर्ना भएका छन् । पालिकाले एउटा पनि कम्प्युटर र ल्यापटप नभएको विद्यालयमा ल्यापटप पुर्याउने योजनाका साथ पालिकाले कार्य गरेको शाखा प्रमुख तामाङले बताए । पालिकाले सूचना जारि गर्दै मापदण्ड पुरा गरी प्रस्ताव पेस गर्न आव्हान गरेको छ । पालिकाले ५ वर्षीय स्थानीय शैक्षिक योजना बनाएको बताउँदै शिक्षामा भएका नियमित कार्यहरुलाई निरन्तरता दिँदै आएको तामाङले बताए ।

पालिका प्रेस
थप जानकारी