मकवानपुर थाहा नगरपालिका वडा नम्बर १२ मा लिती खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीले एक समारोहबाकीच आयोजनाको २१ कात्तिकमा शिलान्यास गरेका हुन् । लिती खानेपानी आयोजनाको साँझेदार संस्था च्वाइस नेपालका कन्ट्री डाइरेक्टर प्रतीक शर्मा, कार्यक्रम निर्देशक किरण न्यौपानेसहितको विशेष उपस्थितीमा नागदह स्थित रिजर्भ भ्वायर ट्याङ्की शिलान्यस गरेर आयोजनाको शुरुवात गरिएको हो ।

वडा नम्बर १२ को नागदह, ब्लेटोल, गौराइटोल, नयाँ घर टोल, कुण्डलीलगायतका गाउँलाई लक्षित गरी खानेपानी आयोजना निर्माण शुरु भएको हो । आयोजनाबाट २ सय ५ भन्दा बढि परिवार लाभान्वित हुने च्वाइस नेपालका प्रताप घिमिरेले जानकारी दिए । २ करोड ५९ लाख ९० हजार ५ सय ८ रुपियाँ लागत अनुमान रहेको आयोजना १८ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको च्वाइस नेपालका कुल प्रसाद तिवारीले जानकारी दिए । नगरपालिकाको तर्फबाट आयोजनाका लागि ६० लाख लगानी रहने छ ।
गुणस्तरीय खानेपानीको अभावमा रहेका उक्त क्षेत्रका बासिन्दाहरुलाई ‘एक घर, एक धारा’ नीति अनुसार खानेपानी आपूर्ति गरिने थाहा नगर उपप्रमुख भरत गोपालीले बताए । नागरिकलाई खानेपानीको अभाव हुन नदिनका लागि सरकारी तथा गैर सरकारी संघसंस्थाहरु संगको सहकार्यमा खानेपानी आयोजनाहरु निर्माण थालिएको उपप्रमुख गोपालीको भनाइ छ । करिब २ किलोमिटर टाढाको घट्टेखोला र मेल खोला मुहानबाट वितरणका लागि पानी ल्याइएको छ ।

यसअघि एउटै धाराबाट १० देखि १५ परिवारले पानी थाप्नुपर्ने बाध्यता रहेको सो क्षेत्रमा आयोजना सम्पन्न भएपश्चात् सहजै खानेपानी आपूर्ति हुने लिती खानेपानी उपभोक्ता समितिका अध्यक्ष हिरामान घलानले बताए । उनले घरघरैमा धारामा पानी आउने भएपछि खुशी व्यक्त गर्दै भने–‘पानीका लागि हामी श्रमदान गर्न तयार छौं, सहयोग गर्ने नगरपालिका, वडा कार्यालय र च्वाइस नेपाललाई धेरै धेरै धन्यवाद छ ।’

 

खानेपानी आयोजनाको शिलान्यासको अवसरमा आयोजनाका लागि च्वाइस नेपाल मार्फत सहयोग गर्ने हिलिङह्याण्ड फाउण्डेशमा आवद्ध विदेशीहरुले श्रमदान समेत गरेका थिए । उनीहरु आयोजना क्षेत्रमा केही दिनदेखि स्थानीय जीवनशैली अवलोकन तथा आयोजना अन्तर्गतको पाइपलाइन खन्नेपुर्ने लगायतका कामहरु समेत गर्दै आएका छन् । २१ कात्तिकमा भएको आयोजना लिान्यास कार्यक्रममा थाहा नगरपालिकाका नगर उपप्रमुखसहित, थाहानगर खानेपानी बोर्ड प्रतिनीधि सुरजकुमार भुजेल, १२ नम्बर वडाध्यक्ष टीकाराम स्याङ्तान, सदस्यहरु युवराज जिम्बालगायतका जनप्रतिनीधिहरु तथा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व अध्यक्ष बिमलकुमार ढकाल, सञ्चारकर्मी ध्रुव ढकाललगायतकाको उपस्थिती रहेको थियो ।