नेकपा माओवादी निकट वाइसीएल थाहानगर वडा नम्बर ४ को कमिटीले नगरको प्रसिद्ध धार्मिक स्थल ऋषेश्वर मन्दिर परिसरमा सरसफाइ गरेको छ । आगामी मंसिर ७ गते लाग्ने हरीबोधनी एकादशीको मेलालाई लक्षित गर्दै ऋषेश्वर मोडदेखि मन्दिरसम्मको एक किलोमीटर बाटो र मन्दिर परिसर सरसफाइ गरेको माओवादी ४ नम्बर वडाका सचिव गणेश लामाले जानकारी दिए ।

माओवादी केन्द्रको तीन महिने अभियान अन्तर्गत वडा पार्टी र वाइसीएलले संयुक्तरूपमा सरसफाइ गरेको हो । वाइसीएल ४ नम्बर वडा कमिटीले मेलापछि धेरै फोहोर हुने भएकोले ९ गते मन्दिर प्रवेशद्वारदेखि मन्दिरसम्म पुनः सरसफाइ गर्ने पनि सचिव लामाले बताए । माओवादी केन्द्रका ८५ जना कार्यकर्ताको सहभागितामा सरसफाइ कार्यक्रम गरिएको माओवादी थाहानगरका अध्यक्ष बिनोद कुमार लामाले बताए ।

यसैबीच थाहा नगरपालिका वडा नम्बर ४ को कार्यालयले ऋषेश्वर मन्दिर परिसरको विभिन्न स्थानमा फोहोर फाल्नको लागि डस्ट्विीन राखेको छ । वडा अध्यक्ष नारायण लामाले ९ थान डस्वीन ऋषेश्वर मन्दिरमा बस्दै आइरहेका गुरु जितेन लामालाई डस्टविन हस्तान्तरण गरेका हुन् ।

पालिका प्रेस
थप जानकारी