मकवानपुरको पर्यटकीय नगरी भनेर परिचय बनाएको थाहा नगरपालिकाका कतिपय गाउँमा अझै पानी बोकेरै खानुपर्ने बाध्यता रहेको छ । बज्रवाराहीबाट नजिकै रहेको थाहा नगरपालिका वडा नम्बर ५ को तिनाल गाउँका स्थानीयहरु खानेपानी बोकेरै दैनिकी चलाइरहेका छन् । इन्द्रसरोवर गाउँपालिका १ नम्बर वडाको सीमा क्षेत्रमा पर्ने तिनाल गाउँका करिब ४२ घरमा पानी बोकेरै खाने र वस्तुभाउ पाल्नुपर्ने बाध्यता रहेको छ ।

‘तिनाल गाउँका घरलौरी एक÷एक जनाको विहानको काम पानी ओसार्ने मात्र हुन्छ’–स्थानीय रमेश भ्लोनले भने । पानी अभावकै कारण गाउँमा वस्तुभाउ पाल्न र करेसाबारीमा सागपात रोप्न समेत कठिनाइ भएको भ्लोनको भनाइ छ । तिनाल गाउँमा अहिले मात्र होइन पहिलेबाटै खानेपानीको अभाव रहेको गाउँका ज्येष्ठ नागरिक रामनाथ वाइवाले बताए । स्थानीय इन्द्र भ्लोनेले दुखेसो पोख्दै भने–‘अरु त अरु त्यसै बगेर जाने पानीको समेत असाध्यै दुःख छ, हाम्रो दुःख बुझ्ने को छ र ?’ उनी थप्छन्–‘गाउँमा चुनाव र अरु बेलामा पनि आश्वासन बाँड्नेहरु घरघरै आउँछन्, दुःको बेला कसैले फर्केर हेर्दैनन् ।’

तिनाल गाउँमा, गाउँ भन्दा माथि पानीको मुहानै छैन । पानीका लागि गाउँदेखि करिब ८ सय मीटर तल तिनाल खेत मुहानबाट पानी बोकेर उकालो चढ्नु पर्ने विवेक कुमारी भ्लोनले सुनाइन् । पानी बोकेरै पुस्तौ बित्यो, गाविस नगरपालिका भएको वर्षौ भयो तर गाउँमा पानीको समस्या जिउँका त्यू छ, भ्लोनले भनिन् । उनले गाउँमा पानी ल्याइदिनको लागि अनुरोध गर्दा आश्वासन बाहेक अरु केही नपाएको बताइन् ।

अधिकांश तामाङहरुको बाहुल्यता रहेको तिनाल गाउँमा ४२ परिवारको करिब २ सय २० जनाको बसोबास रहेको छ । उनीहरुले गाउँमा पानी आपूर्तिको लागि सहयोग गरिदिन स्थानीय सरकार र सहयोगी निकायहरुलाई अनुरोध गरेका छन् ।

पालिका प्रेस
थप जानकारी