मकवानपुरको थाहा नगरपालिकामा नगरपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि साविक विजेता जनकल्याण माविले हात पारेको छ । अघिल्लो दुई वर्ष विजेता भैसकेको यस वर्ष पनि विजेता भएसंगै जनकल्यणले राष्ट्रपति शिल्ड आफ्नै बनाएको छ । प्रतियोगिता अन्तर्गत मेयर कप छात्र र छात्रा भलिबल प्रतियोगिताको उपाधि भने पालुङको मत्स्य नारायण माविले जितेको छ ।
जनकल्याण माविले राष्ट्रपति रनिङ शिल्डमा १७ स्वर्ण, १४ रजत र ७ कास्य पदक सहित प्रथम हुन सफल भएको छ । त्यसैगरी ९ स्वर्ण, ३ रजत र ५ कास्यसहित बागेश्वरी मावि टिष्टुङ दोस्रो र ३ स्वर्ण ८ रजत ५ कास्य सहित झम्केश्वरी मावि ओखरबजार तेस्रो भएको छ ।

मेयरकप भलिबल प्रतियोगिताको फाइनल खेलमा मत्स्यनारायणका छात्र र छात्रा समूहले नाट्यश्वरको छात्र र छात्रा समूहलाई पराजित गरी प्रथम भएको छ भने छात्रातर्फ जनकल्याण र छात्र तर्फ बज्रबाराही मावि तेस्रो भएको छ । मेयरकप भलिवलमा दुवै मत्स्यनारायणका प्रवल कार्की र बिमला माया वाइवा उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

      विजेता विद्यालय र विद्यार्थीलाई प्रमुख अतिथी थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टले शिल्ड, मेडल, प्रमाणपत्र तथा ट्रफी प्रदान गरेका थिए । थाहा नगरपालिका खेलकुद विकास समिती संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा सम्पन्न समारोहमा थाहानगर उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, थाहा वडा नम्बर १ का अध्यक्ष हेरमान गोपाली, वडा नम्बर ४ का अध्यक्ष नारायण लामा, थाहा नगर शिक्षा शाखाका अधिकृत माधवबिक्रम मल्ललगायत विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, प्रधानाध्यापकहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि, सहभागी विद्यालयका प्रधानाध्यापक, खेलाडी, खेल शिक्षक तथा विद्यार्थीहरुको उपस्तिथि रहेको थियो।

समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी बिष्टले स्थानीयस्तरमा रहेका खेलाडीको क्षमता अभिवृद्धिका लागि नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन सञ्चालन गर्दै आएको बताए । उनले राष्ट्रियस्तरका खेलाडी हुनको लागि बलियो आधार यहि प्रतियोगिता भएकोले यस किसिमको प्रतियोगितालाई थप व्यवस्थितसंगै सञ्चालन निरन्तरताको प्रतिवद्धता व्यक्त गरे । यही ८ पुसदेखि सञ्चालन भएको प्रतियोगितामा नगरपालिका अन्तर्गतका १० सामुदायिक र ४ वटा संस्थागत विद्यालयको सहभागिता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी