मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ८ मा रहेको सप्तकन्या गुफा धार्मिकको साथै ‘एड्भेन्चर’ पर्यटकीय क्षेत्रको रुपमा परिचय स्थापित गर्न थालेको छ । करिब ४ सय मीटर लामो अनुमान गरिएको सप्तकन्या गुफा उत्तिकै फराकिलो रहेको छ । खानीखोलाबाट छङ्छङ झरिरहेको झरनाले गुफाको मुखैमा स्वागत गरिरहेको दृश्य देख्ने वित्तिकै जो कोहीलाई पनि गुफा घुमौ–घुमौ लाग्ने गरी मोहित तुल्याउँछ ।

सप्तकन्या गुफाभन्दा माथिल्लो क्षेत्रमा पार्क निर्माण गरिएको छ । यहि पार्क हुँदै गफामा जाने बाटो रहेको छ । थाहा नगरपालिका र वडा कार्यालयको समेत सक्रियतामा निर्माण थालिएको पार्कमा स्थानीयहरुले सघाएका छन् । पिकनिक खानको लागि ट्रष्टहरु बनाइएको छ । नजिकै कन्चन खोला भएकोले पिकनिकमा रमाउनेहरुका लागि सप्तकन्या छेवैको पार्कमा पानीको अभाव नै छैन । स्थानीयहरु पिकनिकको साथै पुजाआजा गर्नको लागि सप्तकन्या मन्दिर पुग्छन् । वैशाख पूर्णिमा, नौरथा लगायतका पर्वहरुमा सप्तकन्या मन्दिरमा मेला नै लाग्छ । ‘वन बुढा, वन बुढी’ सप्तकन्या संगै रहेको अर्को देवस्थल हो । यहाँ पनि गाउँलेहरु दर्शन गर्छन् र पुजा चलाउँछन् ।

तर, गुफा भित्र भने मन्दिर छैन । विभिन्न आकृतिहरु देखिने भएकोले गुफा भित्र पस्नेहरु ‘रक्षा गर्नूहोस् भगवान’ भन्दै ढोग्छन् । गुफाको माथ्लपट्टी नै मन्दिर भएकोले पनि गुफा भित्र देखिएका आकृतिलाई स्थानीयहरु भगवान नै ठान्छन् । हिउँद बर्खा नै बगिरहने खानीखोला र नजिकै मन्दिर र पार्क भएकोले सप्तकन्यामा क्यालेण्डरमै तोकेर मेला चलाउने सोचमा स्थानीय शंकर अर्याल छन् । वडाका जनप्रतिनीधिहरु र गाउँलेहरु मिलेर सप्तकन्या क्षेत्रमा पर्यटक भित्र्याउन सके आफ्नो क्षेत्रको प्रचार हुने अर्यालको विश्वास छ ।

खानीखोला छेवैमा रहेको सप्तकन्या गुफासम्म पुग्ने बाटो समेत निर्माण भएकाले स्थानीय आन्तरिक पर्यटकहरु घुम्न जान थालेका छन् । डाँडाबास–दामगाडे–मोरिया–धादिङ सडक खण्डबाट लामचौर नजिकैको सहायक सडकबाट गुफा पुग्न सकिने वडा अध्यक्ष हेम कुमार लामाले जानकारी दिए । ८ नम्बर वडा कार्यालय नजिकैको स्वास्थ्य चौकीको बाटोबाट झोलुङ्गे पुलबाट पनि पैदल हिँडेर गुफासम्म पुग्न सकिने अध्यक्ष लामाले बताए । गुफासम्म पर्यटक पु¥याउनको लागि वडा कार्यालयले प्रचारात्मकको साथै प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गरिरहेको उनको भनाइ छ ।

सप्तकन्या गुफा तथा पार्कका लागि हालसम्म ३० लाख रुपियाँ लगानी भएको वडाध्यक्ष लामाले जानकारी दिए । आर्थिक वर्ष २०७९/०८० मा २० लाख र चालु आर्थिक वर्ष २०८०/०८१ मा १० लाख रुपियाँको काम भैरहेको उनको भनाइ छ ।

-फोटोहरुः गणेश विष्ट/पालिका प्रेस

 

 

 

पालिका प्रेस
थप जानकारी