बागमती प्रदेशमा दुइ सिटको हाम्रो नेपाली पार्टी सरकारमा आउन आलटाल गरिरहेका बेला सत्तागठबन्धनका दुई प्रमुख घटक नेकपा एमाले र माओवादी केन्द्र राप्रपालाई फकाउने कसरतमा छन् । प्रदेश सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र गठबन्धनको ठूलो दल नेकपा एमालेले राप्रपालाई सरकारमा सहभागी हुन औपचारिक प्रस्ताव राखेको छ । राप्रपाले भने परिस्थति हेरेर निर्णय लिने जवाफ दिएको नेताहरुले बताएका छन् ।

बागमतीमा गठबन्धनका माओवादी, एमाले, नेकपा (एकीकृत समाजवादी) र राप्रपा मिले सहजै सरकार बन्छ । तर, राप्रपा पनि सहजै सरकारमा सहभागी हुने स्थितिमा देखिँदैन । ११० सदस्य प्रदेशसभामा सरकारलाई बहुमत पु¥याउन ५६ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३ (सभामुखसहित), एकीकृत समाजवादीको ७, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीका २ प्रदेशसभा सदस्य छन् । राप्रपासहित गठबन्धनको सरकार बने ६८ सांसदको समर्थन रहन्छ । राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले परिस्थति हेरेर निर्णय लिने बताए । थापाले प्रदेश सरकारमा सहभागी हुन नसक्ने गरी पार्टीले निर्णय नगरेको बताउँदै अवस्था हेरेर शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई समर्थन गर्न सक्ने संकेत गरे ।

‘अनिर्णयको बन्दी हुने अवस्था आएमा, निर्वाचनमा जाने अवस्था र हामीले नै निकाश दिन पर्ने अवस्थामा पार्टीले सहज बनाएको कुराकानी हो,’ थापाले भने । वर्तमान अवस्थामै प्रदेश सरकारमा जान नसक्ने उनले बताए । राप्रपाले तत्काल आन्दोलनलाई जोड दिएको उनको भनाई छ । राप्रपालाई सडकमा उठाइएका मुद्दा सदनमा प्रस्तुत गर्नु भनेर निर्वाचनबाट जनताले म्यान्डेट दिएको बताउँदै थापाले भने, ‘पहिला हामीले नै सरकारबाट राजीनामा दिएर निस्किएका हौं । कसैले हटाएको, विवश बनाएको पनि हैन । अहिले सरकारसँग धेरै विकल्प छ । त्यही विकल्पमा उहाँहरु लागिरहनु भएको छ,’ । सरकारपक्ष र एमालेले राप्रपा भएमा सुविधाजनक हुने र काम गर्ने वातावरण बन्ने भएकाले सरकारमा आउन प्रस्ताव गरेको थापाले जनाए । ‘मुख्यमन्त्रीज्यू र सत्तामा जान लागेका दलले भन्नु भएको छ । अहिले हतार गरेर सत्तामा गइहाल्ने हाम्रो इच्छा हैन । त्यो परिस्थतिको कुरा हो, यसबारेमा सोच्छौं,’ थापाले भनेका छन् । मुख्यमन्त्री जम्कट्टेल नयाँ सरकार विस्तारलाई लिएर संकटमा छन् ।

केन्द्रीय गठबन्धनका साझेदार दलमध्ये प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपा एमाले, नेकपा माओवादी र नेकपा (एकीकृत समाजवादी)को सिट संख्याले मात्रै सरकार बनाउन बहुमत नपुग्ने भएकाले साना दललाई समेट्नु पर्ने दबाव छ । २३ फागुनमा नेपाली कांग्रेसका ६ जना मन्त्रीले राजीनामा दिएर सरकारलाई लिएको समर्थन फिर्ता गरेसँगै जम्कट्टेल अल्पमतमा छन् । विश्वासको मत पाउन जम्कट्टेललाई राप्रपा, हाम्रो नेपाली पार्टी (हानेपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) लाई सर कारमा ल्याउनुको विकल्प छैन । नेमकिपा सरकारमा नजाने निश्चित प्रायः छ । गठबन्धन बाहिरका कांग्रेस, राप्रपा र हानेपा मिले पनि सरकार बन्ने अवस्था छैन ।

२५ पुस ०७९ मा गठित आफ्नै नेतृत्वको सरकारलाई समर्थन गरेर विश्वासको मत दिएको हानेपालाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री जम्कट्टेल लागि परेका छन् । तर, हानेपाले जम्कट्टेलको सरकारमा सहभागी हुने प्रस्ताव सहजै स्वीकार नगरेकोले उनलाई दबाब बढेको छ । मंगलबा हेटौंडा आउने तरखरमा रहेका हानेपा संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्य काठमाडौंमै रोकिएका थिए । नेपाली कांग्रेसले पनि हानेपालाई रोक्न प्रयास गरिरहेको छ । जसकारण जम्कट्टेल राप्रपाको समर्थन खोजी गरिरहेका छन् । बागमतीको १२ सदस्यीय मन्त्रिपरिषदमा हाल सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित चार, नेकपा (एकीकृत समाजवादी)का दुई जना मन्त्री छन् । नेपाली कांग्रेसले छोडेको ६ वटा मन्त्रालयमा भागबण्डा गर्ने तयारीमा मुख्यमन्त्री जम्कट्टेल देखिन्छन् । यद्यपि, सरकार बहुमत पु¥याउने दबाबका बीच दलहरुसँग छलफलमा रहेकाले प्रदेश गठबन्धनमा भागबण्डाको विषयले प्रवेश पाइनसकेको नेताहरुले बताएका छन् । –साझाकुराबाट

पालिका प्रेस
थप जानकारी