मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा रहेको थाहा नगरपालिकामा जनता टिकाउनै मुस्किल भएको तथ्याङ्कले देखाएको छ । थाहा नगरपालिका एमआइएस सेवा ईकाईको तथ्याङ्क अनुसार विगत ४ वर्षमा बसाइइसरी आउनेको तुलनामा बसाइसरी जानेको तथ्याङ्क तीन गुणा बढि रहेको छ ।

स्रोत: एमआइएस सेवा इकाई, थाहा नगरपालिका ।

एमआइएस सेवा इकाई प्रमुख रुपक कार्कीका अनुसार वि.सं. २०७७ सालदेखि २०८० सालसम्म पालिकामा जम्मा ९० परिवारका २ सय ९२ जना बसाइसरी आएका छन् । सोही अवधीमा २ सय ८८ परिवारको १ हजार ७२ सदस्य बसाइसरी अन्यत्र गएका छन् । सबैभन्दा बढि बसाईसरी जाने जाने २ नम्बर वडाका नागरिक रहेका छन् । ४ वर्षमा २ नम्बर वडाका ५६ परिवारका २ सय ३५ सदस्यले गाउँ छाडेका छन् । दोस्रोमा ७ नम्बर वडाबाट ३३ परिवारका १ सय १७ जना र तेस्रोमा ५ नम्बर वडाका २७ परिवारका ८१ जना बसाइसरी वडा छोडेका छन् । सबैभन्दा कम बसाई सराई हुने वडा भने ८ नम्बर रहेको छ । ८ नम्बर वडाबाट ४ वर्षमा जम्मा ९ परिवारका ३३ जना मात्र बसाइसरी गएका छन् ।

बसाइसरी आउनेको तथ्याङ्क भने निकै कमजोर छ । यद्यपि बसाइ सरी आउनेहरुको रोजाइको वडा भने ६ नम्बर रहेको छ । चार वर्षमा कुल बसाइ सरी आएका ९० परिवार मध्ये २१ परिवार ६ नम्बर वडामै आएका छन् । दोस्रोमा १ नम्बर वडा रहेको छ । यस वडामा १२ परिवारका ४८ जना अन्यत्रबाट बसाइसरी आएका छन् । त्यस्तै ११ परिवारका ४५ जना बसाईसरी आएको ३ नम्बर वडा तेस्रो रोजाईमा परेको छ ।

वि.सं. २०७७ देखि २०८० सम्मको बसाईसरी आउने/जानेको तथ्याङ्क । स्रोत: एमआइएस सेवा इकाई, थाहा नगरपालिका ।

बसाईसरीको वार्षिक तथ्याङ्क हेर्ने हो भने थाहा नगरपालिकामा २०७७ सालमा ११ परिवार बसाईसरी आएका छन् । सोही वर्षमा ६४ परिवार अन्यत्र गएका छन् । तथ्याङ्क अनुसार २०७८ सालमा ३७ परिवार बसाईसरी आउँदा ७७ परिवार बसाइसरी गएका छन् । २०७९ सालमा २५ परिवार बसाइसरी आएका छन् भने ९३ परिवार बसाई सरी गएका छन् । त्यसैगरी वि.सं. २०८० सालमा १७ परिवार बसाईसरी आउँदा ५६ परिवार बसाईसरी गएको तथ्याङ्क रहेको एमआइएस सेवा इकाइका फिल्ड सहायक अच्युत विडारीले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी