बागमती प्रदेशको खेती गर्ने माटोमा ८० प्रतिशत अम्लियपना देखिएको छ । माटोमा बढी अम्लियपना काठमाडौं उपत्यकासहित काभ्रे, मकवानपुरको उत्तरीक्षेत्र, चितवन, नुवाकोट र धादिङमा देखापरेको प्रयोगशालाले जनाएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला, बागमती प्रदेशले २०७६ देखि गरेको माटो परीक्षणको तथ्यांकले निरन्तर अम्लियपना बढ्दै गएको देखाएको छ । बागमती प्रदेशको २० लाख ३० हजार हेक्टर क्षेत्रफलमध्ये ३ लाख २८ हजार २ सय ९७ हेक्टर अर्थात् १६ दशमलब १७ प्रतिशत भूभाग जमिन खेतीयोग्य छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअनुसार जसमा २ लाख ८९ हजार ६ सय ६२ हेक्टर जग्गामा खेती गरिएको छ ।

यहाँको उर्वरा जमिनमा अम्लियपना हरेक वर्ष ८० प्रतिशतको दरमा देखिएको प्रयोगशालाले जनाएको हो । अम्लियपनाका कारण कृषिउत्पादनमा निरन्तर ह्रास आइरहेको कृषि विज्ञहरु बताउँछन् । २०७६ देखि चैत तेस्रो सातासम्म १५ हजार ५ सय ८८ वटा माटोको नमूना परीक्षण गर्दा ८० प्रतिशत माटोमा अम्लियपना देखिएको प्रयोगशाला प्रमुख वरिष्ठ माटोविज्ञ डा. जनार्दन खड्काले जानकारी दिए । प्रयोगशालाले ०७६÷०७९ सम्म १० हजार ६ सय ४१ वटा माटोको नमूना परीक्षण गरेकोमा ८३ प्रतिशत माटोमा अम्लियपना देखिएको उनले बताए ।

चालू आर्थिक वर्ष २०८०/८१ को चैत तेस्रो सातासम्म ४ हजार ९ सय ४७ वटा माटोको नमूना परीक्षण हुँदा ८७ प्रतिशत अम्लियपना देखिएको तथ्यांक छ । एकपटक माटो परीक्षण गरेपछि ५ वर्षसम्म पुनः परीक्षण नगरिने डा. खड्का बताउँछन् । ‘अम्लियको परीक्षण एकपटक नियन्त्रणका उपाय गरिसकेपछि कम्तिमा पनि ५ वर्ष गर्नुपर्दैन । नयाँनयाँ माटोको परीक्षण गर्दा अम्लिय एउटै दरमा देखिएको छ,’ उनले भने । तरकारी उत्पादन बढी हुने क्षेत्रमा विषादिको प्रयोग अधिक, काठमाडौंको ढल बगेर पुग्ने जग्गा भएकाले, वर्षातको पानी बगेर जम्मा हुने गहिरो भूमागमा बढी अम्लियपना देखिएको डा. खड्काले उल्लेख गरे ।

अम्लियपना बढ्नु र प्राङ्गारिक पदार्थको मात्रा घट्नुले रहेको उनी बताउँछन् । यस्तै, २०७६ देखि ०७९ सम्मको नमूना परीक्षणबाट माटोमा ४७ प्रतिशत मात्रै प्राङ्गारिक पदार्थ पाइएको छ । चालू आवको परीक्षणमा ५३ प्रतिशत कमी देखिएको डा. खड्काले जानकारी दिए । उत्पादनको क्षमता बढाउने प्राङगारिक पदार्थ माटोमा कमी हुनु दोस्रो ठूलो समस्याको रुपमा देखापरेको उनको भनाई छ ।

पालिका प्रेस
थप जानकारी