मकवानपुरमा १५ वर्षमा १ सय ९३ जना व्यक्तिले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका छन् । वि.सं. २०६५ सालदेखि २०८० को फागुनसम्म वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएको वैदेशिक रोजगार विभागको तथ्यांकमा छ । सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत जिल्ला प्रशासन कार्यालय मकवानपुरमा रहेको आप्रवासी स्रोत केन्द्रले आर्थिक वर्ष २०६५÷६६ देखि २०८०÷८१ को फागुनसम्म १ सय ९३ जनाले ज्यान गुमाएको तथ्यांक सार्वजनिक गरेको छ ।

यसैगरी विगत १० वर्षमा वैदेशिक रोजगारीमा गएका मकवानपुरका ६२ जना बिरामी तथा अंगभंग भएको परियोजनाले उल्लेख गरेको छ । बागमती प्रदेशमा २०७५÷७६ मा ९७ जनाको मृत्यु भएको सामी परियोजनाले जनाएको छ । देशभर २०६५÷०६६ यता १५ वर्षमा ५ हजार २ सय ७९ जनाले वैदेशिक रोजगारको क्रममा ज्यान गुमाएको वैदेशिक रोजगार विभाग, कन्सुलर सेवा विभाग र बैदेशिक रोजगार बोर्डको तथ्यांक रहेको सामी परियोजनाले जनाएको छ ।

मकवानपुरबाट गतवर्ष ०७९÷८० मा विदेशिनेहरु १३ हजार १ सय १ जना रहेको परि योजनाले जनाएको छ । तर, यस तथ्यांकमा अध्ययनका लागि विदेशिएकाहरु समेटिएका छैनन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट गतवर्ष राहदानी लिने २३ हजार ३ सय ८३ जना थिए । चालू आव २०८०÷८१ को फागुनसम्म प्रशासनबाट ६ हजार ३ सय ५० जनाले राहदानी लिएको परियोजनाकी मकवानपुर संयोजक अञ्जिता थापा मगरले जानकारी दिइन् । मकवानपुरबाट चालू आवको फागुनसम्म ७ हजार ६ सय ४७ जनाले पुनः श्रम स्वीकृति लिएको र ५ हजार ३ सय ३७ जनाले नयाँ श्रम स्वीकृति लिएको तथ्यांक छ ।

सामी परियोजना मकवानपुरको हेटौंडा उपमहानगर पालिका, थाहा नगरपालिका, बकैया र मनहरी गाउँपालिकामा सञ्चालित छ । परियोजनाले विदेश जान चाहनेलाई आवश्यक सूचना तथा परामर्श, विदेशमा रहेकाको परिवारलाई वित्तीय शिक्षा तथा मनोसामाजिक परामर्श, र वैदेशिक रोजगारबाट फर्किएकाबाट सूचना तथा अनुभव आदानप्रदानको लागि समुदायस्तरका काम गरिरहेको छ । सामी परियोजनामार्फत वैदेशिक रोजगारी जानु अघि आवश्यक कागजपत्रको सुरक्षण, सीप, भाषा लगायतको पूर्वतयारी बारे परामर्श दिने गरिएको संयोजक मगरले बताइन् । यसैगरी, वैदेशिक रोजगारीबाट फर्केकाहरु र वैदेशिक रोजगारमा रहेकाहरुको परिवारलाई वित्तीय साक्षरता कक्षामार्फत आर्थिक व्यवहार परिवर्तन, पारिवारिक बजेट, फजुलखर्च कटौती जस्ता कार्यमा प्रोत्साहित गर्दै आएको छ । वैदेशिक रोजगारीको क्रममा ठगिएकाहरुलाई न्यायमा पहुँच बढाउन परामर्श र सहायत प्रदान गर्ने गरेको परियोजना संयोजक थापा मगरले बताइन् । परियोजनाले प्रतिवर्ष करिब ५ लाख भन्दा बढी श्रमशक्ति वैदेशिक श्रमबजारमा प्रवेश हुने गरेको उल्लेख गरेको छ ।

पालिका प्रेस
थप जानकारी