मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण गरिएको छ । भवनको एक समारोहकाबीच थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले उद्घाटन गरे ।

चित्लाङ स्वास्थ्य चौकीको नवनिर्मित भवन च्वाइस नेपालको सहयोगमा तथा समुदायको सहकार्यमा निर्माण गरिएको हो । कुल २ करोड १० लाख लागत रहेको भवनका लागि च्वाइस नेपालले १ करोड ५० लाख तथा थाहा नगरपालिकाको ५० लाख सहयोग गरेको हो । च्वाइसको प्राविधिक सहयोगमा निर्माण भएको भवन डेढ वर्षमा निर्माण पूरा भएको च्वाइसका प्रताप घिमिरेले बताए ।

भवन उद्घाटन गर्दै नगर प्रमुख विष्णु बहादुर विष्टले नागरिकलाई गुणस्तरीय र छिटो स्वास्थ्य सेवा दिन मद्दत पुग्ने बताउँदै च्वाइस नेपालको सहयोगको प्रशंसा गरेका थिए । उद्देश्यले स्वास्थ्य चौकी भवन निर्माण गरिएको बताए । सामान्य विरामी हुँदा पनि घर नजिकैको स्वास्थ्य केन्द्रबाट सेवा लिनका लागि विष्टले आग्रह गरे । प्रमुख विष्टले स्वास्थ्य चौकी भवनको निर्माणले यस क्षेत्रका नागरिकले प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सहयोगी दाता च्वाइस नेपालका कन्ट्रीडाइरेक्टर प्रतीक शर्माले स्वास्थ्य क्षेत्रको पुर्वाधार विकास गर्ने उद्देश्य रहेको बताउदै निर्माण कार्य सम्पन्न पछि पनि च्वाइसले अस्पतालमै सुत्केरी, सबैलाई स्वास्थ्य सेवा, आकस्मिक सेवा, प्राविधिकलाई तालिम तथा दक्ष जनशक्ति उत्पादन गरी सेवा प्रदान गरिने बताए । नमुना काम सहित छिटो समयमा भवन निर्माण गरिएको बताउदै शर्माले सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे। पहिलो बर्षमा स्वास्थ्य चौकी भवन निर्माण गरिने, दोश्रो बर्ष स्वास्थ्य संस्थालाई आधुनिक उपकरण सहित प्रविधिमैत्री बनाइने र तेस्रो वर्ष कर्मचारी र स्वास्थ्यकर्मीहरुको क्षमता विकास गरी दक्ष बनाउन विभिन्न तालिम कार्यक्रम संचालन गरिने शर्माको भनाइ छ ।

चित्लाङ स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष राजकुमार बलामीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, थाहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवीन खालिङ, डोटेरा नेपालका राजेश अधिकारी, सिटिइभिटीका पुर्व सदस्य सचिव डाक्टर रामहरी लामिछाने, वडा नम्बर ६ का अध्यक्ष राजनभक्त श्रेष्ठ, थाहा नगर स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीलगायत राजनैतिक दलका प्रतिनिधिहरु, थाहा नगरपालिका भित्रका स्वास्थ्य संस्थाका प्रमुखहरु, डोटेरा चाइनाको अतिथिहरु तथा स्थानीयको उपस्थिति रहेको थियो ।