कुपोषणका कारण मकवानपुरको कैलाश गाउँपालिकामा चालु आर्थिक वर्षमा चार बालबालिकाको ज्यान गएको छ । पाँच वर्षमुनिका २ बालिका र २ बालकको मृत्यु भएको हो । गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख कृष्ण यादवले गत साउनदेखि माघसम्म वडा ३, ४ र ७ का कुपोषणले ग्रस्त चार बालबालिकाको मृत्यु भएको जानकारी दिए ।

जिल्लाको कैलाश र राक्सिराङ गाउँपालिकामा बालबालिका, सुत्केरी तथा गर्भवतीमा कुपोषणको दर उच्च देखिएको छ । राक्सिराङमा भने यस वर्ष कुपोषणका कारण ज्यान गएको घटना नभएको पालिकाका स्वास्थ्य शाखा प्रमुख विजय कापरीले बताए । अशिक्षा र गरिबीको चपेटामा रहेको चेपाङ समुदायमा कुपोषणको समस्या घट्न नसकेपछि त्यसको पहिचान र उपचारका लागि कैलाश गाउँपालिकाले चालु आवदेखि कुपोषण निराकरण अभियान चलाउँदै आएको छ । पालिकाले कडा शीघ्र कुपोषण भएकालाई बहिरंग स्वास्थ्य उपचार केन्द्र नै स्थापना गरी तथा मध्यम शीघ्रकालाई नियमित रूपमा पौष्टिक आहार उपलब्ध गराउँदै आएको छ ।

पालिकाले ‘कुपोषणरहित गाउँपालिका, हाम्रो अभियान’ सहित हरेक टोलमा पुगेर कुपोषितको ‘खोज र उपचार गर’ अभियान चलाएको हो । उक्त अभियानअन्तर्गत गाउँपालिकामा चालु आर्थिक वर्ष (आव)मा ३४ महिला र ४८ बालबालिकामा कुपोषण पाइएको थियो । जसमध्ये २६ जना कडा शीघ्र कुपोषित र ५६ जना मध्यम शीघ्र कुपोषित रहेका भेटिए । गाउँपालिकाको स्वास्थ्य शाखा, स्वास्थ्य चौकीका कर्मचारी र स्वास्थ्य स्वयंसेविका १० वटै वडामा परिचालन गरी एक साताको अभियान चलाएर कुपोषित गर्भवती र सुत्केरी महिलारबालबालिकाको खोजी गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख यादवले बताए । गरिब तथा चेपाङ परिवारमा पोषण कार्यक्रम शीर्षकमा गाउँपालिकाले चालु वर्षमा ५० लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट कुपोषित महिला र बालबालिकालाई नियमित पोषणयुक्त खानेकुरा वितरण गर्नुका साथै उनीहरूलाई आयआर्जनमा सघाउ पुग्ने कार्यक्रम सञ्चालन गरिएको शाखा प्रमुख यादवले बताए ।

कुपोषणग्रस्त गर्भवती तथा सुत्केरीका लागि गाउँपालिकाले ‘हरेक बार खाना चार’ कार्यक्रमअन्तर्गत अन्डा, क्वाँटी, हर्लिक्स, घिउ, मासको दाल, ओखर, काजु र सरसफाइ कीट उपलब्ध गराउँदै आएको छ । यसैगरी कुपोषित बालबालिकाका लागि मासिक रूपमा पोषण खीर, पोषण खिचडी, पोषण हलुवा उपलब्ध गराउँदै आएको छ । सन्तुलित रूपमा नियमित पोषणयुक्त खानेकुरा पकाउनेबारे पनि सम्बन्धित परिवारका सदस्य राखेर जानकारीमूलक कार्यक्रम सञ्चालन गरेको छ ।

पालिका प्रेस
थप जानकारी