थाहा नगरपालिका वडा नम्बर २ को घाटदेवी आधारभूत विद्यालयलाई ३४ हजार ८६० रुपैयाँ सहयोग पाएको छ । बर्खे बिदामा समेत बिद्यालय नियमितरुपमा सञ्चालन गरेको घाटदेवीलाई २ नम्बर वडामै सक्रिय जनजागरण समाजले उक्त नगद सहयोग गरेको हो । विद्यालयका विद्यार्थीहरुलाई दिवा खाजाको ब्यवस्थापन गर्न सहयोग गरिएको समाजका सहसंयोजक माधव कार्कीले जानकारी दिए ।
३२ साउनमा विद्यालयमा आयोजना गरिएको कार्यक्रममा समाजको तर्फबाट विद्यालयलाई रकम हस्तान्तरण गरिएको हो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा बिद्यालयको शैक्षिक गुणस्तर बढाउनको लागि नियमानूसार नगरपालिकाले निर्धारण गरेको बिदाको समयमा पनि विद्यालय सञ्चालन गरिएको बिद्यालयका प्रधानाध्यापक दिपक कार्कीले बताए । उनले बिद्यालयका बिद्यार्थीहरुका लागि दिवा खाजा ब्यवस्थापनका लागि जनजागरण समाजको आर्थिक सहयोग महत्वपूर्ण भएको बताए ।
समाजको वि.सं. २०७९ मा स्थापना भएको हो ।
सरकारले कक्षा ५ सम्म अध्ययन गर्ने बिद्यार्थीहरुका लागि प्रति विद्यार्थी १५ रुपैंयाको दरले प्रत्येक बर्ष १ सय ८० दिन बराबरको रकम बिद्यालयलाई उपलब्ध गराउने बताउँदै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिरबहादुर तामाङले प्राप्त हुने रकम पर्याप्त नहँुदा समाजले गरेको आर्थिक सहयोगले खाजा ब्यवस्थापनमा सहज हुने बताए । विद्यालयले वार्षिक २ सय २० भन्दा बढी दिन बिद्यालय खुल्ने र उक्त दिन नियमित रुपमा बिद्यार्थीहरुलाई खाजा खुवाउने समेत अध्यक्ष तामाङले बताए ।

रकम हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि थाहा नगरपालिका वडा नंम्बर २ का अध्यक्ष बमबहादुर सिन्तानले सामुदायिक शिक्षाको गुणस्तर बृद्धिका लागि बिद्यालयको मेहनत महत्वपूर्ण भएको बताए । उनले विद्यालयलाई जनजागरण समाजले गरेको सहयोगले शैक्षिक विकासमा सहयोगी हुने बताउदै समाजको सकारात्मक विकासका लागि शैक्षिक जनशक्तिको महत्वपूर्ण भूमिका रहने समेत अध्यक्ष सिन्तानको भनाइ थियो ।
कार्यक्रममा जागरण समाजका सहसंयोजक माधव कार्की, सचिव बिकेशबाबु बस्नेत, पालुङगढी संरक्षण समितिका अध्यक्ष अजय कार्की, पालुङ जेसीज बर्ष २०२४ का उपाध्यक्ष नारायण कार्की लगायत बिद्यालयका शिक्षक, विद्यार्थीको उपस्थिति रहेको थियो । बिद्यालयमा बालविकास केन्द्र सहित कक्षा ८ सम्म १ सय २८ जना बिद्यार्थी अध्ययनरत छन् । थाहा नगरपालिकाले पालिकाका सामुदायिक विद्यालयहरुमा साउन १३ गतेदेखि भाद्र ३ गतेसम्म बर्षे बिदा निर्धारण गरेको छ ।

























































प्रतिक्रिया दिनुहोस्