फोटोः विज्ञान विष्ट/पालिका प्रेस

मकवानपुरको थाहा नगरपालिकाको घट्टेचौरमा शंखासुर राक्षसलाई हिलोमा गाडेर बध गरेको खुशीयालीामा परम्परादेखि मनाइदै आएको हिलेजात्रा यसपालि ६ भाद्रमा मनाइएको छ । पानी परिरहेको भएपनि छाता ओढेर दर्शकहरुले हिलेजात्राको अवलोकन गरिरहेका थिए । झरीमा नै लाखे नाँचलगायत विभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो ।

हिले जात्रामा यसपटक स्कुले विद्यार्थीहरु पनि सहभागी भएका छन् । जनकल्याण माविको प्राङ्गणमा जात्रा लाग्ने भएपनि विद्यालय विदा थिएन । यसले गर्दा विद्यार्थी सहभागी नहुने कुरै भएन । खेतबारी नजिकै भए पनि थाहा नगरका विद्यार्थीहरु बढ्दो शहरीकरणको प्रभावस्वरुप प्रकृति र परम्पराबाट टाढा हुँदै गएको अनुभव भएपछि विद्यालयले आफ्ना विद्यार्थीहरुलाई समेत हिलेजात्रामा सहभागी गरायो ।

विद्यार्थीलाई हिले जात्रामा सहभागी गराउनुको अर्को कारण यहाँका किसानहरु अचेल तरकारी तथा अन्य नगदेबालीतर्फ आकर्षित भए, धान खेति हुन छोड्यो, त्यसैले उनीहरुलाई धान रोपाइँबारे जानकारी गराउनु पनि थियो । गाई जात्राको पर्सीपल्ट मनाइने हिलेजात्रामा खेतीपाती, देव–दैत्यबीचको द्वन्द्वसँग जोडिएको परम्परागत नृत्य, लाखे नाच, रोपाइँ अभिनय र प्रहसन हुन्छ ।

थाहा–२ को पालुङ तथा देउला वस्ती, थाहा–३ को गोपाली बस्तीलगायतका स्थानबाट निकालिएको हिलेजात्रा थाहा–३ को घट्टेचौरमा पुगेर एकीकृत भई नेवार समुदायले पुजाआजा गरेर प्रस्तुत गरेका थिए । किंवदन्तीअनुसार देवता र राक्षसहरुबीच लडाइँ गर्दा हिलोमा गाडेर राक्षसहरुलाई बध गरेको खुसीयालीमा यस क्षेत्रका नेवार समुदायले वर्षेनि हिलेजात्रा मनाउँदै आएका हुन्।

धर्म र संस्कृति सम्बन्धी अध्ययन गर्दै आएका पूर्व शिक्षक रामचन्द्र फुर्सदीका अनुसार देवताहरुले राक्षसलाई हिलोमा गाडेर बध गरेको खुसीयालीमा यस क्षेत्रका नेवार समुदायले वर्षेनि गाईजात्राको पर्सिपल्ट हिलेजात्रा मनाउने गर्छन् । अर्कोतिर दामन–पालुङ क्षेत्रमा रोपाइँ सकेको सन्देश दिन पनि हिलेजात्राको आयोजना गरिएको स्थानीयवासीहरुको भनाइ छ ।

करिब ५ सय वर्ष अघिदेखि दामन पालुङका नेवारी समुदायले हिलेजात्रा मनाउँदै आएका छन् ।

पालिका प्रेस
थप जानकारी