मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । उक्त वडा उपमहानगरकै छैठौं बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको हो ।

शुक्रबार एक औपचारिक कार्यक्रमबीच उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले ४ नम्वर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेकी हुन् । सो कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले निकट भविष्यमा उपमहानगरलाई नै बालमैत्री शासनयुक्त स्थानीय तह घोषणाको तीब्र तयारी भइरहेको बताइन् । उनले पछाडी परिएका बालबालिकाहरुलाई सक्षम बनाउन उपमहानगर लागि परेको बताइन् ।

विभिन्न सूचक पूरा गरेसँगै उक्त वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको वडाध्यक्ष नविन सिंग्देलले जानकारी दिए । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गरिएको उनको भनाई छ ।

कार्यक्रममा उपप्रमुख राजेश बानिँया, विभिन्न वडाका वडा अध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो । ४ नम्वर वडामा १८ वर्ष मुनिका ४ हजार २ सय ७० जना बालबालिका रहेका छन् । १९ वडा रहेको हेटौंडा उपमहानगरपालिकामा पछिल्लो समयमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने क्रम बढ्दो छ । यसअघि हेटौंडा–८ पहिलो, हेटौंडा–२ दोस्रो, हेटौंडा–७ तेस्रो, हेटौंडा–१७ चौथो र हेटौंडा–१० पाँचौ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषित भइसकेको छ ।

पालिका प्रेस
थप जानकारी