मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ७ मा २२ कार्तिकबाट शुरु हुने मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । थाहा नगरपालिका वडा नम्बर ७ को पर्यटन प्रवद्र्धनका लागि आयोजित प्रतियोगितामा थाहा नगरपालिका र कैलाश गाउँपालिकाका भलिबल टिमहरुको सहभागिता हुनेछ ।

दुई पालिकास्तरीय प्रतियोगिताका लागि २१ वटा टिमले नाम दर्ता गराएको प्रतियोगिताका संयोजक सुजिन्द्र गोलेले जानकारी दिए । ७ नम्बर वडाको डाँडाबास खेल मैदानमा हुने प्रतियोगिता २५ कार्तिकसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका विजयी टिमले ५१ हजार १ सय ५१ रुपियाँ, द्वितीय हुनेले ३१ हजार १ सय ३१ रुपियाँ र तृतीय हुनेले १३ हजार १ सय १३ रुपियाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने संयोजक गोलेले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्टहरुलाई नगदसहित शिल्ड र प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ ।

सल्ले राम्चे युवा क्लबको आयोजनामा हुने प्रतियोगिताको सहआयोजक हिमशिखर बचत तथा ऋण सहकारी संस्था थाहा–७ डाँडाबास रहेको छ । थाहा नगरपालिका वडा नम्बर ७ मुख्य सहयोगी रहेको प्रतियोगिताको अफिसियल मिडिया पार्टनहरु पालिका प्रेस डटकम, थाहा टाइम्स र थाहापाटी रहेका छन् ।

आयोजकले प्रतियोगिता अवलोकन गर्नका लागि सम्पूर्ण खेलप्रेमीहरुलाई सूचना मार्फत अनुरोध गरेको छ ।

पालिका प्रेस
थप जानकारी