मकवानपुर थाहा नगरपालिकाको डाँडाबासमा मैत्रीपुर्ण पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको २२ कार्तिकमा एक समारोहकाबीच थाहा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज थिङले उद्घाटन गरे । समारोहमा थाहानगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तानको विशेष आतिथ्यता रहेको थियो ।
प्रतियोगिताको संयोजक सुजिन्द्र गोलेको अध्यक्षतामा भएको उद्घाटन समारोहमा थाहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष तथा प्रवक्ता हिरेन्द्र कुमार रायमाझी, वडा नम्बर १ का कार्यवाहक अध्यक्ष सरोज प्रधान, वडा नम्बर ७ का वडा सदस्य देवेन्द्र थापा मगर, थाहा नगरपालिकाका रोजगार संयोजक कुमार नेगी, सुन्दरीदेवी माविका प्रधानाध्यापक हरिकृष्ण कार्कीलगायतकाको आतिथ्यता रहेको थियो ।

थाहा नगरपालिका वडा नम्बर ७ को पर्यटन प्रवद्र्धनका लागि आयोजित प्रतियोगितामा थाहा नगरपालिका र कैलाश गाउँपालिकाका भलिबल टिमहरुको सहभागिता हुनेछ । दुई पालिकास्तरीय प्रतियोगितामा २० वटा टिमले प्रतिस्पर्धा गर्ने संयोजक सुजिन्द्र गोलेले जानकारी दिए । ७ नम्बर वडाको डाँडाबास खेल मैदानमा हुने प्रतियोगिता २५ कार्तिकसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका विजयी टिमले ५१ हजार १ सय ५१ रुपियाँ, द्वितीय हुनेले ३१ हजार १ सय ३१ रुपियाँ र तृतीय हुनेले १३ हजार १ सय १३ रुपियाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने संयोजक गोलेले जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्टहरुलाई नगदसहित शिल्ड र प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ ।

सल्ले राम्चे युवा क्लबको आयोजनामा हुने प्रतियोगिताको सहआयोजक हिमशिखर बचत तथा ऋण सहकारी संस्था थाहा–७ डाँडाबास रहेको छ । थाहा नगरपालिका वडा नम्बर ७ मुख्य सहयोगी रहेको प्रतियोगिताको अफिसियल मिडिया पार्टनहरु पालिका प्रेस डटकम, थाहा टाइम्स र थाहापाटी रहेका छन् ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्