मकवानपुरको थाहा नगरपालिका र कैलाश गाउँपालिकास्तरीय अन्तर वडा पुरुष भलिबलको प्रतियोगिता अन्तर्गत २४ कार्तिकबाट क्वाटर फाइनलका खेलहरु सञ्चालन हुने भएको छ । थाहा नगरपालिकाको डाँडाबासमा २२ कार्तिकबाट शुरु भएको प्रतियोगिताको प्रि–क्वाटर फाइनलका खेलहरु २३ कार्तिकमा सकिएको प्रतियोगिताका संयोजक सुजिन्द्र गोलेले जानकारी दिए ।

२४ कार्तिकमा हुने क्वाटर फाइनल अन्तर्गतको पहिलो खेल थाहा–२ र उन्युचौर टिमबीच हुनेछ भने दोस्रो खेल आयोजक सल्ले राम्चे युवा क्लब ‘बी’ र थाहा–५ टिमबीच हुनेछ । त्यस्तै तेस्रो खेल थाहा–३ र आयोजक सल्ले राम्चे युवा क्लब ‘ए’ बीच प्रतिस्पर्धा हुनेछ भने क्वाटर फाइनल अन्तर्गतको अन्तिम खेल सशक्त रातो र थाहा–९ बीच हुने संयोजक गोलेले जानकारी दिए ।

थाहा नगरपालिका वडा नम्बर ७ को डाँडाबास खेल मैदानमा भैरहेको प्रतियोगिताको फाइनल खेल २५ कार्तिकमा हुनेछ ।

प्रतियोगिताका विजयी टिमले ५१ हजार १ सय ५१ रुपियाँ, द्वितीय हुनेले ३१ हजार १ सय ३१ रुपियाँ र तृतीय हुनेले १३ हजार १ सय १३ रुपियाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने संयोजक गोलेले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्टहरुलाई नगदसहित शिल्ड र प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ ।

सल्ले राम्चे युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको सहआयोजक हिमशिखर बचत तथा ऋण सहकारी संस्था थाहा–७ डाँडाबास रहेको छ । थाहा नगरपालिका वडा नम्बर ७ मुख्य सहयोगी रहेको प्रतियोगिताको अफिसियल मिडिया पार्टनहरु पालिका प्रेस डटकम, थाहा टाइम्स र थाहापाटी रहेका छन् ।

पालिका प्रेस
थप जानकारी