हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा आगामी ३ मंसिरमा “हेटौंडा रन २०८१” प्रतियोगिता हुने भएको छ। युवा तथा खेलकुद क्षेत्रको विकासका लागि वार्षिक रूपमा उपमहानगरपालिकाले यस पटक पाँच किलोमिटर दौड प्रतियोगिताको आयोजना गर्ने भएको छ।

३० कार्तिकमा पत्रकार सम्मेलन गरी खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र घिमिरेले २०८१ साल मङ्सिर ४ गते बिहान ७ बजे बुद्धचोकबाट सुरु हुने प्रतियोगिता भैरवरोड, लक्ष्मी आधारभूत विद्यालय, सूर्यचोक, नवोदय स्कूल, सत्यमचोक, थाहाचोक, सीतलमहल र ओमभवन हुँदै पुनः बुद्धचोकमा सकिने जानकारी दिएका छन्। प्रतियोगितामा हेटौंडाका १६ वर्ष पूरा भएका स्थायी बासिन्दाले मात्र भाग लिन पाउने छन्। सहभागीले नागरिकता वा जन्मदर्ता प्रमाणपत्रको सक्कल प्रति अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। स्वास्थ्य समस्या भएका व्यक्तिलाई भने सहभागी गराइने छैन।

प्रतियोगिताका विजेतालाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष घिमिरेले बताए । प्रथम हुनेले २५ हजार, द्वितीय हुनेले १५ हजार र तृतीय हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै चौथो र पाँचौं हुनेले क्रमशः ५ हजार र ३ हजार रुपैयाँ पाउनेछन्। थप १२ जना प्रतिस्पर्धी तथा विशेष महिलाहरूलाई जनही ४ हजार रुपैयाँको प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ सम्मेलन मार्फत जानकारी दिएका छन्।

सहभागी हुन चाहनेले अग्रिम रूपमा वा कार्यक्रम स्थलमा बिहान ६ः४५ बजेसम्म दर्ता गराउन सक्नेछन्। प्रतियोगिता नेपाल एथलेटिक्स संघको नियमानुसार सञ्चालन गरिने आयोजकले जनाएको छ। कार्यक्रममा नगर विकास खेलकुद संघका सदस्यहरु उपस्थिति रहेको थियो।