मकवानपुर थाहा नगरपालिकामा १७ मंसिरमा ३३ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस अभिमुखीकरण कार्यक्रमसहित मनायएको छ । शिखरकोटको विकास घरमा भएको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको हक, अधिकार, आत्मबल तथा लक्ष्य निर्माण सम्बन्धि अभिमुखिकरण गरिएको हो ।

महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गता परिचयपत्र वितरण शाखा थाहा नगरपालिकाको आर्थिक सहयोगमा नगर अपाङ्ग सरोकार समन्वय समितिको आयोजनामा अभिमुखीहरण कार्यक्रम सञ्चालन गरिएको हो । थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण गिरीको प्रमुख आतिथ्यतामा भएको अभिमुखीकरण कार्यक्रमका सहभागीहरुलाई जिल्ला अपाङ सरोकार समिति मकवानपुरका अध्यक्ष गणेश चन्द्र दवाडीले सहजीकरण गरेका थिए ।

 

प्रत्येक वर्षको डिसेम्बर ३ मा मनाइने अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको यसवर्षको नारा–‘समावेशी र दिगो भविष्यका लागि अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्वलाई प्रवद्र्धन गरौँ ।’ भन्ने रहेको थियो । यस वर्ष मनाइएको दिवस ३३औं हो ।

थाहानगर अपाङ्ग सरोकार समितिका अध्यक्ष मनलाल गोपालीको सभाध्यक्षतााम भएको कार्यक्रमको अवसरमा न्यानो कपडा समेत वितरण गरिएको थियो ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी तथा प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले संविधान तथा कानूनले स्थानीय तहलाई दिएको अधिकारलाई कार्यान्वयन गर्दै जाने बताए । नेपालको संविधानको अनुसूची ८ को १६ मा स्थानीय तहको अधिकार अन्तर्गत अपाङ्गता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापनका सम्बन्धमा समेत उल्लेख गरिएको उल्लेख गरे । प्रमुख प्रशासकीय अधिकृत गिरीले नगर भित्र रहेका अपाङ्गता भएकाहरुको पहिचान गरी स्वास्थ्य केन्द्रको सिफारिस अनुसार परिचय पत्रको व्यवस्था गरी उनीहरुलाई नियमानुसार भत्ता तथा सिपमुलक तालिमहरु दिइरहेको बताए । उनले अपाङ्गता भएका व्यक्तिलाई हेर्ने समाज एवं राज्यको दृष्टिकोण परिवर्तन हुनु आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा थाहा नगरपालिकाका सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने, महिला बालबालिका जेष्ठ नागरिक तथा अपाङ्गता परिचयपत्र वितरण शाखाका प्रमुख प्रतिमा मोक्तान लगायतका उपस्थिति रहेको थियो।

पालिका प्रेस
थप जानकारी