दाङको राप्ती गाउँपालिकाको संयोजनमा बालबालिका तथा महिला सहकारीमा आबद्ध महिलालाई घटना व्यवस्थापन तथा आधारभूत सहायता सीपसम्बन्धी तीनदिने अभिमुखीकरण तालिम भएको छ । ब्याकवार्ड सोसाइटी एजुकेसन बेसको आयोजनामा राप्ती पालिकाका बालबालिका तथा महिला सहकारीका प्रतिनिधिलाई तालिम दिन थालिएको हो ।

गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, शिक्षा प्रमुख विश्वास विक उपस्थित कार्यक्रममा घटना व्यवस्थापन तथा आधारभूत सहायता सीपसम्बन्धी तालिम उद्घाटन गरिएको हो । तालिममा जोखिममा परेका तथा सहयोगको आवश्यकता भएका बालबालिका र परिवारको पहिचानपछि तिनलाई आवश्यक सहयोग तथा सेवा प्रत्यक्ष उपलब्ध गराउने र सरोकारवाला निकायमा सिफारिस गर्ने प्रक्रियाबारे जानकारी दिइनेछ । घटना व्यवस्थापनका लागि समन्वय, सहकार्य तथा अभिलेखीकरण गर्नेबारे प्रशिक्षण दिइने बेसका क्षेत्रीय सचिव पटवारी यादवले बताए ।  तालिममा सहभागीले बाल अधिकार, अवधारणा, विशेष अधिकार, बाल अधिकारसम्बन्धी कानुनी व्यवस्था, बाल अधिकारसम्बन्धी महासन्धिमा भएका व्यवस्था, बाल सहभागिता, बाल संरक्षण, घटना व्यवस्थापन र यसका चरण, विपद् जोखिम तथा व्यवस्थापन, स्थानीय तहमा बाल अधिकार र संरक्षणसम्बन्धी सवाललगायत विषय उठान गरिने संस्थाकी समाज परिचालक चन्द्रकला रोकाको भनाइ छ ।

अभिमुखीकरण तालिममा बालबालिकासँग सम्बन्धित विभिन्न समस्यालाई सम्बोधन गर्न सम्बन्धित निकायले पूरा गर्नुपर्ने प्रक्रियाबारे सहभागीलाई जानकारी दिइनेछ । बालबालिकाविरुद्ध हुने दुव्र्यवहार, हिंसा, शोषण र अपहेलनालाई तत्काल सम्बोधन गर्ने विषयको तालिम उपलब्धिमूलक हुने संस्थाकी समाज परिचालक खगिसरा खड्काले बताइन् ।

पालिका प्रेस
थप जानकारी