मकवानपुरको बकैया गाउँपालिका नेपालकै दोस्रो बालमैत्री गाउँपालिका हो । गाउँपालिकाले २९ माघमा बालमैत्री स्थानीय शासन अवलम्बन गरेको पहिलो बार्षिकउत्सव मनाउँदैछ । तर, बालमैत्री गाउँपालिकाका बालबालिकाहरु अझै विभिन्न कारणले बालअधिकारबाट वञ्चित छन् । बालमैत्री बकैया गाउँपालिकामै बालबालिका श्रममा रहेको पाइएको छ । विगत तीन बर्षदेखि बालअधिकारको क्षेत्रमा कार्यरत ग्रामीण महिला स्वाबलम्बन संस्थाले अध्ययन गर्दा बालबालिका श्रममा रहेको पाइएको हो ।

ग्रामीण महिला स्वाबलम्बनले बकैया गाउँपालिकाको सबै वडामा गरिएको अध्ययनमा अधिकांश वडाका बालबालिका श्रममा आवद्ध भएको पाइएको संस्थाका कार्यक्रम ब्यवस्थापक सोमबहादुर स्याङ्तानले बताए । उनका अनुसार गाउँपालिकामा १ सय ४७ जना बालबालिका श्रममा प्रयोग भएका छन् । संस्थाले ६ महिना अगाडि तयार पारेको आँकडा अनुसार ८० जना बालबालिका काठमाडौं, ललितपुर, भक्तपुर, धादिङलगायत जिल्लामा गलैंचा कारखाना र इटा भट्टामा श्रमिकको रुपमा कार्यरत रहेका छन् । त्यस्तै होटल, सहचालक, ग्यारेजलगायत क्षेत्रमा ६७ जना बालबालिका बालश्रममा संलग्न रहेको पाइएको छ ।

परिवार, आफन्त, साथीभाइको लहैलहैमा र परिवारको आर्थिक स्थितिको कारण बालबालिका श्रममा जान बाध्य भएको पाइएको संस्थाले जनाएको छ । गलैंचा कारखाना र इटा भट्टामा काम गर्न बालबालिका गरिबीको कारण परिवार, आफन्तसँग गएको पाईएको संस्थाको प्रतिवेदनमा उल्लेख छ । १४ बर्षदेखि १८ बर्षका मुनिका धेरै रहेको र उनीहरु अहिले पनि श्रमिककै रुपमा काम गरिहेको जनाइएको छ । बार्षिकउत्सवको तयारीसँगै बालबालिकाको हकअधिकारलाई पनि विशेष ध्यान दिनुपर्ने विश्लेषकहरु बताउँछन् । बालबालिकालाई अधिकार दिलाउन अविभाबकसँगै सरकारको पनि दायित्व भएकोले त्यसतर्फ जनप्रतिनिधि सहजक हुनुपर्ने जानाकारहरु बताउँछन् ।

बालमैत्री गाउँपालिका घोषणा गर्न ३९ ओटा सूचकहरु पूरा भएको हुनुपर्दछ । मापदण्डमा १७ ओटा सूचक १०० प्रतिशत हाँसिल गर्नुपर्छ । जसमा २२ वटा सूचक न्युनतम ८० प्रतिशत हाँसिल हुनुपर्ने हुन्छ । त्यो सबै मापदण्ड पुरा गरेको भन्दै गाउँपालिकाले एक बर्ष अघि माघ २९ गते बृहत कार्यक्रम आयोजना गरी बालमैत्री गाउँपालिका घोषणा गरेको थियो । साविक धियाल, छतिवन, ठिङ्गन, मन्थली र शिखरपुर गाविस समाबेश गरी निर्मित बकैया गाउँपालिकामा १२ वटा वडा छन् । बालमैत्री घोषणा पुर्वआयोजित पत्रकार सम्मेलनमा दिएको आंकडा अनुसार गाउँपालिकामा ४६ हजार २४८ कुल जनसंख्या रहेकोमा पुरुष २३ हजार ८४५, महिला २२ हजार ४०३ रहेका थिए । गाउँपालिकामा बालक ९ हजार ४२८ र बालिका ८ हजार ३२ रहेको गाउँपालिकाले जनाएको छ ।

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार बकैया मकवानपुरको तेस्रो ठुलो जनसंख्या भएको स्थानीय तह हो । गाउँपालिका हालको जनसंख्या ४० हजार ६७१ रहेको तथ्याङ्कमा उल्लेख छ । महिला २० हजार ७२४ र पुरुष १९ हजार ९४७ जना रहेका छन् । परिवार संख्या ९ हजार २८ वटा रहेको छ ।

पालिका प्रेस
थप जानकारी