मकवानपुरको राक्सिराङ गाउँपालिकाका ५९ जनाले अपाङ्गता परिचयपत्र कार्ड प्राप्त गरेकाछन् । अपाङ्ता परिचयपत्र प्राप्त गर्नेमा वडा नम्बर ६ निवासी दृष्टि बिहिन गायक जिस्तालाल चेपाङ समेत रहेकाछन् । पालिकाले यहि १८ र १९ पुसमा संचालन गरेको अपाङ्गता भएका ब्यक्तीहरुको स्वास्थ्य परीक्षण तथा अपाङ्गता परिचयपत्र बितरण कार्यक्रम मार्फत उक्त संख्या थप भएको हो । दुई दिनसम्म संचालन गरिएको कार्यक्रम राक्सिराङ गाउँपालिका वडा नम्बर ६ र ७ मा संचालित भएको थियो ।

कार्यक्रम मार्फत ८ जनाले “क” बर्गको परिचयपत्र, १९ जनाले “ख” बर्ग, १४ जनाले “ग” बर्ग र १८ जनाले”घ” वर्ग गरी ५९ जनाले अपाङ्गता कार्ड प्राप्त गरेका हुन्। अपाङ्गता कार्ड प्राप्त गरेसंगै अपाङ्गता भएका ब्यक्तिहरुको लागि राज्यबाट सामाजिक सुरक्षा भत्ता, सेवा, सुविधामा समेत समावेश गर्न सजिलो भएको वडा नम्बर ६ का अध्यक्ष अक्कल बहादुर मुक्तानले बताए । गत आर्थिक बर्षमा गाउँपालिकाले सञ्चालन गरेको घरधुरी सर्वेक्षणमा अपाङ्गता भएका व्यक्तीको संख्या उल्लेख्य मात्रामा देखिएको तर परिचयपत्र प्राप्त नगरेको देखिएपछि पालिकाले शिविर नै सञ्चालन गरेको हो ।

भौगोलिक विकटता र शारीरिक अशक्तताका कारण समुदाय भित्रका अपाङ्गता भएको व्यक्तीको वास्तविक तथ्यांक बाहिर आउन नसकेको गाउँपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख गोमा पन्थीले जानकारी दिइन् । गत बर्षको पालिकाद्वारा संचालन गरेको घरधुरी सर्बेक्षणमा देखिएको अपाङ्गता भएको व्यक्तिहरुको स्वास्थ्य परीक्षण र अपाङ्गता कार्ड बितरणको लागि मेडिकल टिम सहित टोल–टोलमा पुगेको थियो ।

यस भन्दा अघि पालिकाभित्र ४८ जनाले “क” बर्ग, ६१ जनाले “ख” बर्ग,३१ जनाले “ग” बर्ग र १३ जनाले “घ” बर्गको अपाङ्गता कार्ड प्राप्त गरेका थिए । कार्यक्रममा वडा नम्वर ६ र ७ का वडा अध्यक्ष अक्कल बहादुर मुक्तान र राम बहादुर प्रजा सामाजिक विकास शाखा प्रमुख गोबिन्द अधिकारी, महिला तथा बालबालिका शाखा प्रमुख गोमा पन्थी र स्वास्थ्यकर्मी लगाएत अन्यको उपस्थिती रहेको थियो ।

पालिका प्रेस
थप जानकारी