धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरभित्रका ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण गर्न थालेको छ ।जाडोयाममा वृद्धवृद्धालाई न्यानो होस् भन्ने उद्देश्यले नगरपालिकाले शुक्रबारबाट नगरभित्रका ८० वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई सिरक वितरण अभियान थालेको हो । नगरपालिकाको वडा नम्बर ७ बाट सिरक वितरण थालिएको छ । पहिलो दिन वडा नम्बर ७ का १० जनालाई सिरक वितरण गरिएको छ । कार्यक्रममा महालक्ष्मीका नगर प्रमुख पर्शुराम नेपाल, प्रमुख प्रशासकीय अधिकृत लीलाराज श्रेष्ठ, सहायक महिला विकास निरीक्षक गीता लुइँटेललगायतले वृद्धवृद्धालाई सिरक वितरण गरे ।

नगर प्रमुख नेपालले जाडोयाममा कठ्यांग्रिएर बस्न नपरोस् भनेर वृद्धवृद्धालाई सिरक वितरण गरिएको बताए । ‘सबै वृद्धवृद्धासँग जाडो छल्न न्याना लुगा नहुन सक्छन् । यस्तो अवस्थामा उहाँहरू कठ्यांग्रिएर बस्न नपरोस् भनेर सिरक वितरण थालेका हौँ,’ नगरप्रमुख नेपालले भने, ‘७ नम्बर वडाबाट यो अभियान थालेका छौँ । अब केही दिनभित्रै नगर क्षेत्रभरका सबै वडाका ज्येष्ठ नागरिकलाई सिरक वितरण गर्छौं ।’ महालक्ष्मी नगरमा ८० वर्षमाथिका करिब ३५० ज्येष्ठ नागरिक रहेको नगरपालिकाको तथ्यांक छ । उनीहरू सबैलाई सिरक वितरण गरिने नगरप्रमुख नेपालले जानकारी दिए ।

धेरै वृद्धवृद्धा हिँड्न नसक्ने भएकाले उनीहरूको अवस्थाअनुसार घर–घरमै पुगेर वा वडा–वडामा परिवारका सदस्यलाई बोलाएर सिरक वितरण गर्ने तयारी छ । सिरक वितरणका लागि वडा कार्यालयमार्फत ८० वर्षमाथिका ज्येष्ठ नागरिकको तथ्यांक संकलन गरिएको थियो । सोही तथ्यांकका आधारमा सिरक वितरण गरिने नगरपालिकाले बताएको छ । महालक्ष्मी नगरपालिकाले यसअघि पनि वृद्धवृद्धा लक्षित विभिन्नकार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरले स्वास्थ्य शिविर सञ्चालन गरेर वृद्धवृद्धालाई निःशुल्क दाँत लगाइदिएको छ । उनीहरूलाई लौरो, हटब्याग वितरण गरिएको छ ।

वृद्धवृद्धाको अनुभव संकलन गर्ने काम गरिएको छ । वृद्धवृद्धालाई सम्मान र उचित स्याहार–सुसारको खाँचो हुने भएकाले तिनको सम्मानस्वरूप नगरपालिकाले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको नगर प्रमुख नेपालले बताए ।

पालिका प्रेस
थप जानकारी