सुनसरीको सीमावर्ती कोसी गाउँपालिकाले गर्भवतीलाई लक्षित गरी गाउँ–गाउँमा भिडियो एक्सरे सेवा सुरु गर्ने भएको छ । कोसी गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीले भिडियो एक्स–रे मेसिन लौकही स्वास्थ्य चौकीका ललिता यादवलाई हस्तान्तरण गरे ।

गर्भावस्थामा अनिवार्य भिडियो एक्स–रे आवश्यक भए पनि गाउँमा यो सेवा नहुँदा सदरमुकाम इनरुवा तथा विराटनगर धाउनुपर्ने अवस्था हटाउन पालिकाले गाउँमा भिडियो एक्सरे सेवा दिने गरी मेसिन हस्तान्तरण गरेको अध्यक्ष अन्सारीले बताए । स्वास्थ्यकर्मीले तीन पटक अनिवार्य भिडियो एक्सरे गर्नुपर्छ भनिए पनि चेतना अभाव, ग्रामीण परिवेश र बजारमा पहुँच अभावका कारण गर्भवती अवस्थामा स्वास्थ्य मापदण्डअनुसार भिडियो एक्सरे गर्ने र गर्भजाँच गराउनेको संख्या न्यून छ । सोही कारण पालिकाले गाउँमै पुगेर भिडियो एक्सरे सेवा दिन थालेको गाउँपालिकाको सामाजिक विकास शाखा प्रमुख तथा अपांगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमका फोकल पर्सन राजकिशोर मेहताले बताए । समय–समयमा भिडियो एक्सरे नगर्दा गर्भवती, गर्भको बच्चा र प्रसूतिको समय आउन सक्ने जटिलतालाई न्यून गर्न पछिल्लो समय गाउँमै गएर भिडियो एक्सरे शिविर सञ्चालन गर्ने उद्देश्यले भिडियो एक्सरे मेसिन हस्तान्तरण गरिएको मेहताको भनाइ छ ।

लौकही स्वास्थ्य चौकीमा कार्यरत ललिता यादवले लौकही तथा कोसीका अधिकांश गर्भवतीले एक पटक मात्र भिडियो एक्सरे गरेको पाइएपछि जोखिम न्यूनीकराण्का लागि गाउँमै पुगेर भिडियो शिविर सञ्चालन गर्न मेसिन आएको बताइन् । करुणा फाउन्डेन्सनको सहयोगमा प्राप्त मेसिनले लौकही र हरिपुर स्वास्थ्य चौकीबाट भिडियो एक्सरे सेवा सञ्चालन गरिने उनको भनाइ छ । गर्भवतीले तीन पटक अनिवार्य, स्वास्थ्यकर्मीको परामर्श र गर्भवतीको अवस्थाअनुसार जति पटक पनि भिडियो एक्सरे गर्न सक्नेछन् ।

स्वास्थ्यकर्मीका अनुसार गर्भवती भएको जानकारी हुनासाथ पहिलो पटक, गर्भवती भएको ४ देखि ५ महिनामा दोस्रो पटक र ७ देखि ८ महिनामा तेस्रो पटक अनिवार्य भिडियो एक्सरे गर्नुपर्छ । गर्भमा रहेको बच्चाको अवस्था, गर्भवतीको अवस्था र प्रसूतिका बेला हुन सक्ने जटिलतालाई दृष्टिगत गर्दै स्वास्थ्यकर्मीको परामर्शअनुसार अन्य समय पनि भिडियो एक्सरे गर्न आवश्यक रहेको चिकित्सकको सुझाव छ ।

पालिका प्रेस
थप जानकारी