मकवानपुरको कैलाश गाउँपालिकामा पहिलो पटक एइईको परीक्षा केन्द्र निर्धारण गरिएको छ । आगामी ७ चैतबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि कैलाश ९ मा रहेको कालिका माध्यामिक विद्यालयलाई परीक्षा केन्द्र तोकिएसँगै अब कैलाशमा अध्ययनरत विद्यार्थीले अन्य स्थानीय तहमा पुगेर परीक्षा दिनुपर्ने बाध्यता हटेको हो ।

यसअघि पालिकाभित्र अध्ययनरत विद्यार्थीहरु मनहरी, थाहा र हेटौंडा पुगेर एसइई परीक्षा दिने गर्दथे । शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले भौगोलिक विकटता भएकाले परीक्षा र पठनपाठनमा असहज परिस्थिति विद्यार्थीमा रहेकोमा विद्यार्थीको सहजताताको लागि गाउँपालिकाको पहलमा केन्द्र कायम गरिएको बताए ।

परीक्षा दिन आउने विद्यार्थीका लागि गाउँपालिकाले विद्यालयमै खाना र आवासको व्यवस्थासमेत गरिएको मुक्तानले बताए । कालिका माविका बाहेक गाउँपालिका भित्र रहेका पाँच माध्यमिक विद्यालयका विद्यार्थीहरुले सोही स्थानमा परीक्षा दिन पाउनेछन् । मंसिरमा ५ गते प्रधानाध्यापक बैठक बसेपश्चात मंसिर २६ गते गाउँ शिक्षा समितिको बैठक बसी गरेको निर्णय अनुरुप कालिका माविलाई केन्द्र तोक्ने गरी अघि बढेको अध्यक्ष मुक्तानले बताए ।

कैलाशका पाँचवटा विद्यालयबाट नियमिततर्फ एसईई परीक्षामा एक सय ४९ जना विद्यार्थीले सहभागिता जनाउँदै छन् भने ग्रेडवृद्धिका लागि परीक्षामा ६७ जनाले सहभागिता जनाउने गाउँपालिकाका शिक्षा शाखाका प्राविधिक सहायक दीपेन्द्र अधिकारीले बताए । कैलाशबाट दुई सय १६ जना विद्यार्थीले एसईई परीक्षा दिनेछन् ।

कैलाशको कमलादेवी माविबाट नियमिततर्फ २८ जना, ग्रेडवृद्धितर्फ ११ जना, भवानी माविबाट नियमिततर्फ ४६ जना, ग्रेडवृद्धितर्फ २५ जना, व्यास माविबाट नियमिततर्फ ४८ जना, ग्रेडवृद्धितर्फ १८ जना रहेका छन् । यस्तै धुवाङ माविबाट नियमितर्फ ९ जना, ग्रेडवृद्धितर्फ २ जना र रत्नज्योति माविबाट नियमिततर्फ १८ जना र ग्रेडवृद्धितर्फ ११ जना विद्यार्थीले परीक्षा दिने अधिकारीले बताए । कालिका माविका विद्यार्थीले भने हेटौंडा ४ स्थित भुटनदेवी माविबाट परीक्षा दिनेछन् ।

शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले सोमबार केन्द्र निर्धारण गरेको छ । यसवर्षबाट एउटा प्राविधिक विषयको केन्द्र र कैलाश गाउँपालिकामा एउटा केन्द्र थप भएसँगै मकवानपुरमा एसईईको केन्द्र २८ वटा पुगेको इकाई प्रमुख सुदीप गिरीले बताए । कैलाश गाउँपालिकामा पनि परीक्षा केन्द्र निर्धारण भएसँगै अब मकवानपुरका १० वटै पालिकामा परीक्षा केन्द्र कायम भएको उनले बताए ।

पालिका प्रेस
थप जानकारी