बागमती प्रदेश सरकारद्वारा मकवानपुरमा सञ्चालित ३ वटा बहुवर्षीय योजनाको काम अन्तिम चरणमा पुगेको छ । हेटौंडा उपमहानगर पालिका–१० मा निर्माणाधीन बागमती प्रदेशसभाहलको निर्माण सम्पन्न भएको छ । सभाहलको निर्माण कार्य सम्पन्न भएर हस्तान्तरणको क्रममा रहेको सहरी विकास तथा भवन कार्यालय मकवानपुरका प्रमुख इञ्जिनियर सुबोध अधिकारीले जानकारी दिए ।
आर्थिक वर्ष २०८०÷८१ मा सम्झौता भई निर्माण सुरु भएको प्रदेशसभा हलको काम गतवर्षको पुसमा सम्पन्न भइसकेको र निकटभविष्यमा हस्तान्तरण गर्ने तयारी भइरहेको बताइएको छ । ‘भवन निर्माण तथा रङरोगनको काम सकिएको छ,’ प्रमुख अधिकारीले भने, ‘प्रदेशसभाहलमा राख्ने फर्निचर खरिदको प्रक्रियामा छ, फर्निचर हालिएसँगै प्रदेशसभाहल हस्तान्तरण हुन्छ ।’ भ्याटसहित कूल ३ करोड ५३ लाख ६१ हजार रुपैयाँको लागतमा सिउँडी निर्माण सेवा हेटौंडाले प्रदेशसभाहलको निर्माण गरेको हो । प्रदेशसभा सचिवालयको कार्यालयनजिकै निर्माण गरिएको प्रदेशसभाहलमा सभाहलसँगै सभामुख र उपसभामुखको कार्यकक्ष तथा पत्रकार र पर्यवेक्षक बस्ने कक्षको निर्माण गरिएको छ । हेटौंडा उपमहानगर पालिका–२ मा निर्माणाधीन बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सभाहलको काम पनि अन्तिमचरणमा पुगेको छ ।
आर्थिक वर्ष २०७७÷७८ मा सम्झौता भई चालु आर्थिक वर्ष २०८१÷८२ मा सम्पन्न गर्नेगरी निर्माण भइरहेको मुख्यमन्त्री सभाहलको हालसम्म ९९ प्रतिशत काम सम्पन्न भइसकेको सहरी विकास तथा भवन कार्यालय मकवानपुरले जनाएको छ । भवन निर्माणको काम सम्पन्न भइसकेको र रङरोगनको काम अन्तिमचरणमा पुगेको सहरी विकास तथा भवन कार्यालय मकवानपुरका प्रमुख इञ्जिनियर अधिकारीले बताए । अधिकारीका अनुसार संरक्षण÷सेभ जेभी भरतपुरले भ्याटसहित ५ करोड २६ लाख ८३ हजार रुपैयाँको लागतमा यो सभाहल निर्माणको काम गरिरहेको छ । हेटौंडा उपमहानगरपालिका–१ स्थित हेटौंडा अस्पताल भवनको काम पनि तीव्ररुपमा भइरहेको छ ।
सहरी विकास तथा भवन कार्यालय मकवानपुरका अनुसार अस्पताल भवनको काम हालसम्म ८० प्रतिशत सम्पन्न भइसकेको छ । बिकोइ÷ नवसिर्जनशील जेभी काठमाडौंले ठेक्का लिएको अस्पताल भवन निर्माणको काम चाँडो सकिने गरी तीव्ररुपमा भइरहेको जनाएको छ । भ्याटसहित कूल २६ करोड ६४ लाख २५ हजार रुपैयाँको लागतमा निर्माण भइरहेको अस्पताल भवनको निर्माणको काम सम्पन्न गर्न २०८२ असार मसान्तसम्म समयावधि भएपनि केही महिनाभित्र सम्पन्न गर्ने अनुमान गरिएको प्रमुख इ. अधिकारीको भनाइ छ । अस्पतालले जग्गाको व्यवस्थापन नगर्दा अस्पताल भवन निर्माणमा केही ढिलाइ भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्