पर्साको वीरगञ्ज महानगर प्रमुख विजयकुमार सरावगीले आगामी शैक्षिक सत्रदेखि महानगरका विद्यालयमा भोजपुरी भाषा पढाउने बताएका छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवस अवसरमा वीरगञ्जमा आयोजित बहुभाषिक कवि गोष्ठी तथा पुस्तक विमोचन कार्यक्रममा उनले भोजपुरी भाषा पढाउन छिट्टै महानगरपालिकाले निर्णय गर्ने बताए ।

‘आउने शैक्षिक सत्रदेखि विद्यालयमा स्थानीय भाषाको रूपमा भोजपुरी भाषा पढाइ सुरु हुन्छ । १०० नम्बर थप हुने गरी स्थानीय भाषालाई जोड्नुपर्छ भनेर यसबारे शैक्षिक प्रशासन महाशाखालाई भनिसकेको छु । छिट्टै अब निर्णय गरेर कार्यान्वयनमा लैजान्छौँ,’ उनले भने । अन्तर्राष्ट्रिय मातृभाषा दिवस अवसर पारेर भोजपुरी प्रतिष्ठान वीरगञ्जले सोमबार बहुभाषिक कवि गोष्ठी कार्यक्रम राखेको थियो । कार्यक्रममा भोजपुरी कला, भाषा, संस्कृति, साहित्यमा योगदान पु¥याएबापत सलिम मिया, शम्भु पाण्डे र राजदेव दास तत्वालाई ५१ हजार रुपैयाँ राशिको लोकरंग भोजपुरी पुरस्कार प्रदान गरियो ।

त्यस्तै, मुकुन्द आचार्यलाई ५१ हजार राशिकै नेपाल राष्ट्रिय भोजपुरी पुरस्कार र भारत रक्सौलका साहित्यकार प्राध्यापक डा. अरुणेश नीरनलाई पण्डित दीप नारायण मिश्र अन्तर्राष्ट्रिय भोजपुरी सम्मान प्रदान गरिएको प्रतिष्ठानका सचिव रितेश त्रिपाठीले बताए । अन्तर्राष्ट्रिय भोजपुरी सम्मान पुरस्कारको राशि १ लाख रुपैयाँ छ ।

पालिका प्रेस
थप जानकारी