राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा मकवानपुरका केही विद्यालयको अवस्था अत्यन्त कमजोर देखिएको छ । मकवानपुरका दुई स्थानीय तहअन्तर्गत रहेका चार विद्यालयको नतिजा शून्य आएको हो। ती विद्यालयबाट परीक्षामा सहभागी कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन् ।
राक्सिराङ गाउँपालिकाका तीन र भीमफेदी गाउँपालिकाको एक विद्यालयको नतिजा शुन्य आएको शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख सुदिप गिरीले जानकारी दिए । उनका अनुसार राक्सिराङ गाउँपालिका वडा नम्बर ४ स्थित कालिका माध्यमिक विद्यालय, वडा नं ६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय तथा वडा नं ८ स्थित माध्यमिक विद्यालय देवीटारको नतिजा शून्य छ। यस्तै, भीमफेदी गाउँपालिका वडा नम्बर ८ स्थित पञ्चकन्या माध्यमिक विद्यालयको नतिजा पनि शून्य छ ।
गत वर्ष मकवानपुरका चार स्थानीय तहका सात विद्यालयको नतिजा शून्य आएको थियो। यस वर्ष शून्य नतिजा आउने विद्यालयको संख्या केही घटे पनि जिल्लाको शैक्षिक गुणस्तरमा अपेक्षित सुधार नभएको बताइएको छ ।
यसैबीच यस वर्ष मकवानपुरबाट सात छात्रा र छ छात्र गरी १३ जनाले ४ जीपीए ल्याएका छन्। गत वर्ष जिल्लामा पाँचजनाले ४ जीपीए ल्याएका थिए। यस वर्ष ४ जीपीए ल्याउने विद्यार्थीको संख्या उल्लेख्य रूपमा बढेको देखिएको छ। दुई सामुदायिकसहित सात विद्यालयका विद्यार्थी चार जिपिए ल्याउन सफल भएका हुन् ।
२८ वैशाखमा सार्वजनिक नतिजाअनुसार जिल्लामा ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी संख्या ४३६ छ। यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने ७८९ विद्यार्थी छन्। यसैगरी ९८२ विद्यार्थीले २.८ देखि ३.२ जीपीए ल्याउँदा ५५५ जनाले २.४ देखि २.८ जीपीए ल्याएका छन्। २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी भने ४३ जना मात्रै छन्।
शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका अनुसार २०८२ सालको एसईई परीक्षामा जिल्लाका सामुदायिक १०५ र संस्थागत ३७ गरी कुल १४२ विद्यालयका विद्यार्थी सहभागी भएका थिए। यस वर्ष सामान्य शिक्षातर्फ र प्राविधिक शिक्षातर्फका विद्यार्थी सहभागी भएका थिए। केही विद्यार्थीको नतिजा ‘इन्कम्प्लिट’समेत रहेको इकाइले जनाएको छ।

















































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्