हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले हेटौँडा उपमहानगर क्षेत्रमा दीर्घकालीन खानेपानी तथा ढल व्यवस्थापनका लागि करिब ४०० करोड रुपैयाँ बराबरको आयोजना अघि बढाइएको जनाएको छ । बोर्डको तेह्रौँ वार्षिकोत्सवका अवसरमा ८ जेठमा आयोजित कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनकुमारी लामाले एडीबी, खानेपानी विभाग, मन्त्रालय र खानेपानी बोर्डसँगको सहकार्यमा दीर्घकालीन योजना तयार भइसकेको बताउँदै केही आयोजना टेन्डर प्रक्रियामा प्रवेश गरिसकेको जानकारी दिए  ।

नगर प्रमुख लामाले अहिले विश्वभर खानेपानी संकट गहिरिँदै गएको उल्लेख गर्दै पानी व्यवस्थापनलाई अब सामान्य पूर्वाधारका रूपमा मात्रै हेर्न नहुने बताउनुभयो । “आज खानेपानीकै लागि युद्ध हुने अवस्था हामीले देखिरहेका छौँ,” उनले भनिन्, “भोलिका दिनमा पानी ठूलो चुनौती बन्ने भएकाले हामीले दीर्घकालीन सोचका साथ काम गर्नुपर्छ ।”
उनका अनुसार हेटौँडामा जिरो वेस्ट म्यानेजमेन्ट, ढल प्रशोधन केन्द्र निर्माण तथा वर्षाको पानी संरक्षणसम्बन्धी योजना अघि बढाइएको छ । “अब दुई–तीन वर्ष चल्ने बोरिङले मात्रै समस्या समाधान हुँदैन,” उनले भनिन्, “पानीलाई संकलन गर्ने, रिचार्ज गर्ने र जमिनमा सोस्ने प्रणाली विकास गर्नुपर्छ भन्नेमा हामी गम्भीर छौँ ।” नगर प्रमुख लामाले हेटौँडामा साना पोखरी, रिचार्ज पोखरी तथा जलाधार संरक्षण कार्यक्रमलाई नीति तथा कार्यक्रममै समावेश गरिएको जानकारी दिदिइन् । उनले उपभोक्ता समितिहरूसँग समन्वय गरेर एकीकृत खानेपानी व्यवस्थापनतर्फ अघि बढिरहेको पनि बताइन् ।

कार्यक्रममा बोर्डका अध्यक्ष प्रताप विष्टले हेटौँडामा हाल २९ हजार ७ सय ९ धारामार्फत करिब १ लाख ७० हजार नागरिकलाई दैनिक ३ करोड ७५ लाख लिटर खानेपानी वितरण भइरहेको जानकारी दिए । उनका अनुसार हाल बोर्डले १७ वटा वडामा सेवा विस्तार गरेको छ भने मुख्य बजार क्षेत्रमा २४सै घण्टा पानी वितरण भइरहेको छ । विष्टले खानेपानीको गुणस्तरमा विशेष ध्यान दिइएको बताउँदै संघीय सरकारसँगको सहकार्यमा करिब ५० लाख रुपैयाँ लागतमा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइएको जानकारी दिए । “हामीले ५५ स्थानबाट उत्पादन हुने पानी नियमित रूपमा परीक्षण गरेर मात्रै वितरण गर्छौँ,” उनले भने, “खानेपानीका कारण नागरिक बिरामी नपरोस् भन्ने हाम्रो मुख्य जिम्मेवारी हो ।”

उनले संघीय तथा प्रदेश सरकारले खानेपानीको गुणस्तरसम्बन्धी कडा कानुनी व्यवस्था ल्याउन लागेको जानकारी दिँदै स्वच्छ पानी वितरणमा बोर्ड गम्भीर रहेको बताए । “कानुनले छोला कि भन्ने डर होइन, कानुन नै नआउने गरी स्वच्छ पानी दिनुपर्छ भन्ने हाम्रो सोच हो,” उनले भने । बोर्डका अनुसार हाल १ वटा सतहगत मुहान, ४० वटा डिप ट्युबवेल र १९ वटा समवेलमार्फत पानी उत्पादन भइरहेको छ । पानी भण्डारण क्षमता ८ हजार ९ सय ५२ घनमिटर पुगेको छ भने करिब ८ सय किलोमिटर पाइपलाइन विस्तार गरिएको छ ।

चालु आर्थिक वर्षमा हेटौँडा–१५ सानो सुकौलीमा १ लाख लिटर क्षमताको ट्यांकी निर्माण, हेटौँडा–११ थानाभ¥याङ सिमलटार क्षेत्रमा ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्यांकी, हेटौँडा–१६ शक्तिमा समवेल तथा पाइपलाइन विस्तारलगायतका पूर्वाधार निर्माण सम्पन्न गरिएको बोर्डले जनाएको छ ।

कार्यक्रममा हेटौंडा २ का वडा अध्यक्ष विष्णु गोपाल महर्जन, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष हरि हुमागाई, बोर्ड सदस्य डा. कृष्ण धिताल तथा हेटौंडा उपमहानगरपालिका वातावरण सुधार समन्वय समितिका अध्यक्ष धुर्ब अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा बोर्डका निमित्त कार्यकारी निर्देशक विष्णु प्रसाद सापकोटाले बोर्डले हालसम्म गरेका कामको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

वार्षिकोत्सवका अवसरमा बोर्डले अनुशासन, कार्यसम्पादन मूल्याङ्कन, कामप्रतिको लगनशीलता लगायतका आधारमा उत्कृष्ट कर्मचारीहरुलाई प्रशंसापत्र तथा नगदसहित पुरस्कृत गरेको छ । सम्मानित हुने कर्मचारीहरुमा नमुना पण्डित, अजय थिङ, दिपेन्द्र महत, पुष्पा पौडेल पाण्डे, समि श्रेष्ठ, गोविन्द बहादुर थपलिया, डिल बहादुर योन्जन तथा तिलक बहादुर श्रेष्ठ रहेका छन् ।