मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको आठवटै वडा कार्यालयबाट ८ भाद्रदेखि ‘आइरिस डिभाइस’ (आँखाको नानी स्क्यान गर्ने यन्त्र) मार्फत् सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य सुरु भएको छ । औँलाको छाप नआएर समस्या भोगिरहेका लाभग्राहीलाई सहज बनाउन गाउँपालिकाले यो नयाँ प्रविधि प्रयोगमा ल्याएको हो । हाल वडा कार्यालयमा औँठाछाप र आइरिस दुवै डिभाइस प्रयोग गरी जैविक पहिचानका आधारमा नवीकरण भइरहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुधन लामिछानेले जानकारी दिएका छन् ।

भौगोलिक हिसाबले टाढाबाट घण्टौँ हिँडेर आउने ज्येष्ठनागरिक तथा लाभग्राहीको औँलाको चक्र मेटिएर स्क्यान नहुने र पटकपटक वडा धाउनुपर्ने बाध्यता अन्त्य गर्न यो कदम चालिएको गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताए । आइरिस डिभाइसले मानिसको आँखाको नानीको प्याटर्न स्क्यान गरी छिटो र भरपर्दो रुपमा पहिचान पुष्टि गर्ने भएकाले यो औँठाछाप भन्दा अझ सुरक्षित र प्रभावकारी रहेको स्याङ्तानले बताए ।

लाभग्राहीले राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा जैविक पहिचान दिई आआफ्नो वडा वा अस्थायी बसोबास भएकै वडा कार्यालयबाट स्वयं उपस्थित भई नवीकरण गराउन सक्नेछन् । तर, सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०८२ को दफा ५ बमोजिम १६ वर्ष मुनिका बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने अशक्त र ९० वर्ष माथिका ज्येष्ठनागरिकका लागि राष्ट्रिय परिचय नम्बर अनिवार्य गरिएको छैन ।

नेपाल सरकार (महिला, बालबालिका, लैड्डिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय) ले सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ को नियम (९) बमोजिम आगामी असोज मसान्तभित्र भत्ता पाउने सबै योग्य लाभग्राहीलाई परिचयपत्र नवीकरण गराउन सूचित गरेको छ । गत आर्थिक वर्ष २०८२÷८३ देखि सरकारले बायोमेट्रिक पहिचानका आधारमा मात्र नवीकरण र भत्ता वितरण गर्ने व्यवस्था अनिवार्य गरेको हो ।

पालिका प्रेस
थप जानकारी