हिंसा पीडित महिला तथा बालबालिकाका लागि रोल्पा नगरपालिकाले सुरक्षित आवास गृह (सेफ हाउस) निर्माण गरेको छ । रेउघास्थित रोल्पा अस्पतालको परिसरमा निर्माण गरिएको उक्त सुरक्षित आवास गृहको नगर प्रमुख पूर्ण केसीले उद्घाटन गरेका हुन् । नगरको १५ लाख ५० हजार र अन्य स्रोतबाट गरी १८ लाख ९ हजार ७ सय लगानीमा तीन कोठासहितको उक्त आवास गृह निर्माण गरिएको नगरकी उपप्रमुख मनकुमारी घर्तीमगरले बताइन् ।

एउटा हल, १/१ वटा अटेच्ड कोठा र भान्सा कोठा रहेको उक्त भवन निर्माण उपभोक्ता समिति मार्फत् गरिएको थियो । समितिका अध्यक्ष प्रकाश डाँगीले थोरै खर्चमा सुरक्षित र बलियो भवन निर्माण गरिएको बताए । उक्त भवनमा नगरभित्रका र बाहिरबाट हिंसा भोगेर न्याय पाउने लक्ष्य लिएर आएका पीडितलाई आश्रय दिइने नगर प्रमुख केसीले बताए ।

नगरले हिंसा पीडितका लागि सुरक्षित आश्रय दिने गरी कार्यविधि निर्माण गरेको छ । पीडितलाई न्याय दिलाउनुअघि नगरले अभिभावकत्व गरेर उक्त गृहमा बस्ने सुविधा दिन सकिने सेफ हाउस संचालक समितिकी संयोजक निर्मला रोकामगरले बताइन् । पीडितलाई एकद्वारा प्रणाली मार्फत् न्याय दिलाउन सजिलो हुने उद्देश्यले उक्त भवन अस्पताल परिसरमा निर्माण गरिएको अस्पतालका मेडिकल अधिकृत डा प्रकाशबहादुर बुढाले बताए ।

यसअघि सदरमुकाम लिबाङमा केही महिलाको पहलमा सेफ हाउस सञ्चालन गरिँदैआएको थियो । सेफ हाउसमा गाउँबाट हिंसा पीडितहरु न्याय खोज्दै आउने गरेको स्थानीय तुलसा आचार्यले बताइन् । उनका अनुसार स्थानीय तह, जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला तथा बालबालिका शाखा र महिलाहरुको सहयोगमा भाडामा कोठा लिएर सेफ हाउस सञ्चालन गरिएको थियो ।

जिल्लामा सेफ हाउस निर्माण र सञ्चालन गर्न स्थानीय तह र प्रदेश सरकारसँग पटक पटक माग गरिएको जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढाले बताए । राज्यले पीडितलाई न्याय दिलाउनु र उनीहरुको सुरक्षित आवासको व्यवस्था गर्नु मुख्य जिम्मेवारी भएको उनले बताए ।

पालिका प्रेस
थप जानकारी