इटहरी उपमहानगरमा सुनसरीकै पहिलो छात्रावाससहितको आधुनिक सामुदायिक विद्यालय भवन निर्माण सुरु भएको छ । इटहरी उपमहानगरको नगर गौरवको योजनाअन्तर्गत कचना बूढीगंगा स्कुल वडा नम्बर ४ मा छात्रावाससहितको सुविधासम्पन्न भवन निर्माण थालिएको हो ।

१५ करोड ४४ लाख ७७ हजार रुपैयाँ लागतमा दुई वर्षभित्रमा छात्रावाससहितको तीन तले भवन निर्माण हुने उपमहानगरका वरिष्ठ इन्जिनियर जीवन घिमिरेले बताए । इटहरी उप–महानगरको पहलमा राष्ट्रिय योजना आयोगमार्फत संघीय सरकारको विशेष अनुदान र उप–महानगरको १० प्रतिशत लगानी थप गरी भवन निर्माण थालिएको हो । इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले भवन शिलान्यास गरे । चौधरीले इटहरीले भौतिक पूर्वाधार विकासमा फड्को मारेको बताए ।  इटहरी उप–महानगरबासीको उल्लेख्य सहयोगमा जनप्रतिनिधिले समृद्धिको अगुवाइ गरेको उनको दाबी छ । इटहरीबासीले गाँस काटेर दिएको करबाट इटहरी बनेको उनको भनाइ छ ।

कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले छात्रावाससहितको अत्याधुनिक सामुदायिक विद्यालय सुनसरीमै पहिलो हुने बताइन् । इटहरी उप–महानगरको शैक्षिक क्षेत्रको फरक र महत्त्वपूर्ण गौरवको कार्यक्रम रहेको उनले जानकारी दिइन् । शिक्षासेवी लेखनाथ घिमिरेले यति ठूलो योजनाका लागि पहल गर्ने इटहरी उपमहानगरका जनप्रतिनिधिलाई धन्यवाद दिए ।

पालिका प्रेस
थप जानकारी