काभ्रेको नमोबुद्ध नगरपालिकाले नगरभित्रका किशोरीलाई आत्मरक्षा तालिम दिन सुरु गरेको छ । नगरमै पहिलो पटक आयोजना गरिएको आत्मरक्षा तालिम शुक्रबारबाट नमोबुद्ध नगरपालिका वडा नम्बर ८ मा रहेको दाप्चा माविमा सुरु भएको हो ।

तालिमको नगरप्रमुख टीपी शर्मा तिमल्सिनाले उद्घाटन गरे । नमोबुद्ध नगरपालिका वडा नम्बर १, ७, ८, ९ र १० का विभिन्न पाँच विद्यालयका ४० किशोरी तालिममा सहभागी भएका छन् । मण्डनदेउपुर वडा नम्बर ८ मा रहेको द माउन्ट एभरेष्ट तेक्वान्दो डोजाङले प्रशिक्षण दिनेछ । डोजाङका प्रशिक्षकले तीन दिनसम्म किशोरीलाई प्रशिक्षण दिनेछन् । लैंगिक हिंसा न्यूनीकरण गर्ने लक्ष्य साथ उक्त तालिम आयोजना गरिएको हो ।

तालिमबाट किशोरीलाई कुनै पनि दुव्र्यवहार भए प्रश्न उठाउन सक्ने, कुनै व्यक्तिले आफूलाई गरेको व्यवहार चित्त नबुझे त्यसको तत्काल प्रतिवाद गर्न सक्ने, यदि कुनै दुव्र्यवहार भए स्थानीय तह वा प्रहरीसमक्ष गएर उजुरी गर्न सक्ने, कसैले शारीरिक रूपमा दुव्र्यवहार गरे भौतिक प्रतिकार गर्न सक्ने बनाउनेलगायत उद्देश्य राखिएको छ । यस्तै, कानुनी व्यवस्थालगायत विषयमा जानकार बनाउने उद्देश्य लिइएको छ । तालिम उद्घाटन कार्यक्रममा नगरप्रमुख तिमल्सिनाले यस्ता तालिम अब निरन्तर सञ्चालन गर्ने र यसले हिंसामुक्त समाज निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

महिलामैत्री, बालमैत्री नमोबुद्ध नगर निर्माणका लागि निर्वाचित भएदेखि नै विविध कार्यक्रम सञ्चालन गरिएको तिमल्सिनाको भनाइ छ । यस्तै, उपप्रमुख रामदेवी तामाङले किशोर उमेरदेखि नै लैैगिक हिंसा सुरु हुने गरेको भन्दै यसलाई न्यूनीकरण गर्न तालिमले सहयोग पु-याउने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले तालिम आयोजना गर्नुको कारणबारे जानकारी गराए । दाप्चा माविका प्रधानाध्यापक दिनेशप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नमोबुद्ध नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव जनार्दन रिजाल, वडा नम्बर १० का अध्यक्ष रामकृष्ण अधिकारीलगायतले आत्मरक्षा तालिमबाट हुने फाइदाका विषयमा मन्तव्य राखेका थिए ।

पालिका प्रेस
थप जानकारी