विपदको विषयमा मकववानपुर थाहानगरका जनप्रतिनीधिले जानकारी लिएका छन् । शिखरकोटको शंकर होटलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्व तथा युएसएआइडीको आर्थिक सहयोग, अन्तर्राष्ट्रिय आप्रवासी संगठनको प्राविधिक सहयोग तथा भुकम्प प्रविधि राष्ट्रिय समाज नेपाल, प्राक्टिकल एक्सन कन्सल्टिङ र लुथर वर्ल्ड फेडेरेसनको साझेदारीमा आयोजित अभिमुखिकरण तालिममा यस बारे जनप्रतिनीधिहरुले जानकारी हासिल गरेका हुन् । कार्यक्रम दुई दिनसम्म संचालन भएको थियो ।

विपद भनेको कुनै पनि गैर प्राकृतिक र प्राकृतिक कारणहरूबाट अकस्मात, अस्तव्यस्त तवरबाट देखा पर्ने विपत्तिपूर्ण अवस्था हो भन्ने बारेमा जनप्रतिनिधिहरुले मज्जैले छलफल गरे । कुनै स्थानमा आपत्कालीन अवस्थाको सृजना भई जन र धनको क्षतिका साथै जीवनयापनका क्रियाकलापहरु र वातावरणमा प्रतिकुल असर पार्ने प्रकोपजन्य अवस्थाको विषयमा पनि अभिमुखीकरणका सुमय प्रतिनीधिहरुले बुझ्ने मौका पाए । कार्यक्रममा विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐन, २०७४ का अनुसार विपदका प्राकृतिक कारण र स्वरूपहरूमा हिमपात, असिना पानी, बाढी पहिरो, आधी हुरी, खडेरी, भूकम्प, ज्वालामुखी, शितलहर, तातो हावा, भु–स्खलन लगायतका कुराहरु पर्ने र थाहामा यि मध्ये कुनबाट बढि प्रभावित हुन्छन् भनने विषयमा समेत छलफल भएको थियो । गैर प्राकृतिक विपदमा महामारी, अनिकाल, जीवाणु आतङ्क, विकिरण, हवाई, खानी, सडक, जल, तथा औद्योगिक दुर्घटना, विषाक्त ग्याँस, विषाक्त खाद्यान्न, वातावरणीय प्रदूषण, वन विनाशलगायतका विपदजन्य समस्याहरू पर्ने कुराको जानकारी तालिममा लिएको थाहानगर उपप्रमुख भरत गोपालीले प्रतिक्रिया दिए ।

विपदको जोखिम न्युनीकरणमा विपद सम्भाव्य क्षेत्रमा गरिने जोखिमको विश्लेषण, मूल्याङ्कन, विपद रोकथामका लागि गर्न सकिने उपायहरू र जोखिम कम गर्न गरिने कार्यहरूको विषयमा जानकारी पाएपछि यसतर्फ प्रतिनीधीहरुलाई योजना निर्माणमा समेत सहज भएको गोपालीको भनाइ थियो । विपदका बेला उद्धार कार्यपछि पीडित परिवारहरूलाई आफ्नै घरमा वा नयाँ स्थानमा पुनस्र्थापना गर्नु, पीडितको पीडासाम्य पार्ने, पुनस्र्थापना गर्ने वा पुरानो अवस्थामा फर्काउने र मनोसामाजिक परामर्श दिने कार्यहरू महत्वपूर्ण हुन्छन् भन्ने विषयमा पनि छलफल भएकोले तालिम प्रभावकारी भएको थाहा नगरका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने बताए ।

विपद् व्यवस्थापन संघीय, प्रदेश र स्थानीय सरकारको समान जिम्मेवारी भएकोले यसका विषयमा जागरुप हुन आवश्यक रहेको वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र रायमाझीले बताए । सरकारले विपद् व्यवस्थापन गर्न जोखिमको आधारमा नीतिगत, प्रक्रियागत र संस्थागत व्यवस्था गरेको र विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन ऐन, २०७४ ले विपद् व्यस्थापनका सबै क्रियाकलापको समन्वयात्मक र प्रभावकारी रूपमा व्यवस्थापन गरी प्राकृतिक तथा गैरप्राकृतिक विपद्बाट सर्वसाधारणको जीउ ज्यान र सार्वजनिक, निजी तथा व्यक्तिगत सम्पति, प्राकृतिक एवं सांस्कृतिक सम्पदा र भौतिक संरचनाको संरक्षण गर्न नीतिगत, संस्थागत, प्रक्रियागत व्यवस्था र ती संस्थाहरूको जिम्मेवारी र उत्तरदायित्व किटान गरेको तालिम सहजकर्ता लिलाराज भुजेलले बताए ।

नेपालको ७५३ पालिका मध्ये ७०२ वटा स्थानीय तहमा एकसाथ संचालन भैरहेको एक सेटकी साबित्रा आचार्यले बताइन् । तालिममा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धि योजना तथा कार्यक्रम सहितको कार्ययोजना तयार गरि लागू गर्ने, गराउने स्थानीय तहमा विपद जोखिमको अबस्थाको लेखाजोखा, नक्सांकन, विश्लेषण गरि विकास निर्माण सम्बन्धि कार्यमा विपद जोखिम न्यूनीकरणका लागि आवश्यक व्यवस्था गर्ने, भौतिक सरचना निर्माण गर्दा रास्ट्रिय भवन सहिता, भवन निर्माण मापदण्ड लगायत अन्य स्वीकृत निर्देशिका वा मापदण्डको पालना भए नभएको सम्बन्धमा अनुगमन गरि पालना गर्न लगाउने विपद व्यवस्थापनमा परिचालन गरिने कर्मचारी तथा स्वयंसेवकको क्षमता अभिवृद्दिको व्यवस्था गर्ने, विपदमा उद्दारको काम गर्नेलाई सुरक्षाको व्यवस्था गनलगायतका काम, कर्तव्य र अधिकारको बारेमा अभिमुखिकरण गरिएको थियो।

तालिमका सहभागीहरुलाई भुकम्प प्रविधि राष्ट्रिय समाज नेपाल बागमती प्रदेशका लिला भुजेल, एनसेटकी बागमती प्रदेशकी साबित्रा आचार्य, मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय बागमतीका अधिकृत राजु श्रेष्ठले सहजीकरण गरेका थिए । कार्यक्रममा भविष्यमा आईपर्ने विभिन्न प्रकारका विपद् र जोखिम विरुद्ध रणनीतिक तयारी गर्न तयार रहेको थाहानगर प्रमुख विष्णु बिष्टले बताए । उनले नेपालमा आउने बेला बेलाका यस्ता जोखिम र विपद्हरुले पनि सरकारलाई पूर्ण रुपमा सजग गराउन नसकेको बताउँदै विपद् व्यवस्थापन र जोखिम न्यूनिकरणमा संसारले धेरै फड्को मार्दासमेत नेपाल भने निकै पछाडि रहेको बताए ।

तालिममा थाहानगर प्रमुख विष्णु विष्टसहित उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत होमनाथ काफ्ले लगायत वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगरपालिकाका विषयगत शाखा प्रमुखहरु गरि २८ जनाको उपस्थिति रहेको थियो । तालिम पश्चात् कार्ययोजना निर्माण तथा १० बुँदे विपद व्यबस्थापन थाहानगर घोषणापत्र जारी गरि हस्ताक्षर सहित जोखिम न्युनिकरणमा सबैले हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

पालिका प्रेस
थप जानकारी