उठ्नेबित्तिक्कै आँखा मिच्दै हतारहतार पोसाक लगाएर झोलामा किताबकापी ठिक्क पार्छिन् । बेलुका पकाएर राखेको ढिँडो होस् वा गिठ्ठा भ्याकुर, तताएर छिटोछिटो खाएर ननिस्के सुरुका कक्षा भेट्न मुस्किल पर्छ । बिहान साढे ७ बजे नै झोला बोकेर विद्यालयतर्फ लाग्नु सुन्तली चेपाङ र मुना भ्लोनको दैनिकी हो ।

घरबाट टाढा विद्यालय भएका कारण उनीहरू बिहानै त्यसतर्फ लाग्छन् । पढाइ सकेर घर आइपुग्दासम्म साँझ परिसकेको हुन्छ । मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिका–५ ताङराङका माथिल्लो कक्षामा पढ्ने विद्यार्थीको यो साझा समस्या हो । उनीहरूको विद्यालय आउजाउमै दिनमै ५ घण्टा बढी समय खेर गइरहेको छ । ताङराङबाट ५ कक्षाभन्दा माथि पढ्न राक्सिराङको केन्द्र चैनपुरस्थित प्रजा जागृति आधारभूत विद्यालय पुग्नुपर्छ । त्यहाँ ८ कक्षासम्म पढाइ हुन्छ ।

प्रधानाध्यापक सूर्यबहादुर चेपाङका अनुसार तारावाङबाट सबैभन्दा नजिकको विद्यालय नै यही हो । प्रजा जागृतिमा ताङराङका २८ जना पढ्छन् । ‘उनीहरूलाई बिहान साढे ७ बजे घरबाट नहिँडे कक्षा छुट्छ,’ उनले भने, ‘जंगलको बाटो भएकाले छोटो दिनमा छुट्टी हुनुभन्दा आधा घण्टा पहिले नै घरतर्फ लाग्छन् । ४/५ घण्टा आउजाउमै बित्ने भएकाले होमवर्क गर्नसमेत भ्याउँदैनन् ।’

उक्त विद्यालयमा ताङराङबाहेक मुस्ले, घट्टेखोलालगायतबाट समेत विद्यार्थी आउँछन् । अधिकांश चेपाङ समुदायका बालबालिका मात्र पढ्ने यो विद्यालयमा छात्रावासको व्यवस्था नहुँदा टाढाबाट आउनेले दिनहुँ सास्ती भोग्न बाध्य छन् । ‘चैनपुरमा राखेर छोराछोरीलाई पढाउन घर, होस्टल दुवै छैन,’ स्थानीय सुकलाल चेपाङले भने, ‘छोराछोरी दुवै जना बिहान उठ्नेबित्तिक्कै स्कुल जान्छन् । अँध्यारो भएपछि घर आइपुग्छन् ।’

२०२८ मा स्थापना भएको यो विद्यालयमा हाल ३ सय १० जना विद्यार्थी छन् । जसमध्ये ९५ प्रतिशतभन्दा बढी चेपाङ समुदायका छन् । विद्यालयमा दिवा खाजाको व्यवस्था भए पनि कक्षा ६, ७ र ८ का विद्यार्थीले यो सुविधा पाउँदैनन् । विद्यालय टाढा हुनु र खाजाको समेत व्यवस्था नहुँदा ताङराङका आधाजति बालबालिकाले ५ कक्षापछि पढाइ नै छाड्ने गरेको अर्का स्थानीय अमर चेपाङले बताए । ‘९ र १० कक्षा पढ्न अझ त्योभन्दा टाढा रहेको राक्सिराङको सरिखेतस्थित सूर्योदय मावि पुग्नुपर्छ । त्यहाँ छात्रावास रहेकाले केही सहज भने छ,’ उनले भने ।

पालिका प्रेस
थप जानकारी