‘सपना देख्न कानूनी बन्देज हुँदैन भने राज्यलाई कर पनि तिर्नुपर्दैन, त्यसैले सपना देख्नुस् ।’ यो भनाइ सबै मानिसमा लागू हुन्छ ।

नेपालका जनप्रतिनिधिहरूका सपना पनि यस्तै छन् । संघ वा प्रदेश सरकार हाकेकाहरू स्थानीय सरकारमा झर्न खासै तयार हुन्नन् तर, स्थानीय सरकार हाकेकाहरू संघ र प्रदेशमा जानेहरूको संख्या अधिक छ ।

एक कार्यकाल स्थानीय सरकार प्रमुख भइसकेकाहरू आगामाी मंसिर ४ गते हुने निर्वाचनका लागि कोही प्रत्यक्ष उम्मेदवार बनेका छन् भने कोही समानुपातिक उम्मेदवार । उम्मेदवार बनेकामध्ये केहीको चर्चा गरौं ।

कञ्चनपुरको भिमदत्त नगरपालिका सम्हालिसकेका सुरेन्द्र विष्टले प्रदेशसभाको लागि उम्मेदवारी दिएका छन् । स्थानीय सरकारको कार्यकाल सम्हालेसँगै आफू प्रदेश सभाको लागि तयार भएको उनको दावी छ । उनले नेकपा एमालेको तर्फबाट कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ ‘क’बाट उम्मेदवारी दिएका छन् ।

‘मैले पाँच वर्षमा जनताको घरघरमा गएर सेवा गरेँ । पालिका सञ्चालनको लागि ११० भन्दा बढी कानुन बनायौँ,’ उनले भने, ‘मेरो कार्यकालमा विकासको लागि अल्पकालीन र दीर्घकालीन योजना बन्यौ ।’

सोही योजना अनुसार पालिकाको भौतिक पूर्वाधारको विकास भएको उनको दावी छ ।  आफ्नो कार्यकालमा नगरपालिकाद्वारा विद्यालय सञ्चालन, युवाको लागि उद्यमशीलताको कार्यक्रम सञ्चालन गरेको बताए ।

‘विज्ञको सल्लाहमा स्थानीय तहको मात्रै काम भएन । प्रदेश र संघको काम पनि भएको छ,’ उनले भने,  ‘उज्यालो बस्ती, एयरपोर्ट पुन: सञ्चालन, वडा कार्यालयको निजी भवन, स्वास्थ्यकर्मीको लागि भवन निर्माण भएको छ।’

आफूले पालिकाको स्थानीय स्रोत, साधन र जनशक्तिको प्रयोग गरी विकास गर्दै आएको र प्रदेशमा पनि सोही रुपमा विकास गर्ने उनको योजना छ । ‘विकासको लागि बजेट मात्रै प्रर्याप्त होइन । स्थानीय स्रोत र जनशक्तिको प्रयोगको आधारमा पनि हुन्छ,’ उनले भने, ‘मेरो क्षेत्रमा पनि सोही रुपमा विकास हुने छ ।’ स्रोत साधनलाई सही तरिकाले सदुपयोग गरी सुदूरपश्चिमलाई सुन्दर पश्चिम बनाउन सकिने उनको भनाइ छ । स्थानीय स्रोत र साधनको आधारमा नै प्रदेशमा आर्थिक राजश्व बढाउने योजना उनको छ ।

पहिला सीमितको सेवा गरेको भन्दै थप जनताको सेवाको लागि प्रदेश सभामा उम्मेदवारी दिएको उनको जिकिर छ । आफ्नो उम्मेदवारीप्रति आएको गुनासो र आलोचनाको स्वीकार गर्दै सफल कार्यकालको योजना निर्माण गर्न सक्ने अठोट उनले व्यक्त गरे ।

शिक्षा, स्वास्थ्य, फोहोरमैला व्यवस्थापन, कृषि र महिलालाई प्राथमिकतामा राखेर सन्तोष चालिसेले गोकर्णेश्वर नगरपालिकाको नेतृत्व सम्हाले । पालिका प्रमुखको रुपमा अनुभव बटुलेका उनले हाल प्रतिनिधिसभाको लागि उम्मेदवारी दर्ता गरेका छन् ।

स्थानीय तहमा हासिल गरेको अनुभवको आधारमा आफूले संघका लागि सक्षम भएको उनको दावी छ । ‘मैले पाँच वर्ष स्थानीय तहमा काम गरे । धेरै अनुभव बटुलेँ,’ उनले भने, ‘सोही अनुभवको आधारमा म प्रतिनिधिसभाको लागि सक्षम छु ।’

आफू निर्वाचित भएसँगै सुकुम्बासी, सुरक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्ने उनले पालिकाखबरलाई बताए । उनले भने, ‘रोजगारीको व्यवस्था छैन । शिक्षाको ग्यारेन्टी छैन । स्वास्थ्य पहुँच छैन । मैले यी पक्षमा विकास परिपूर्तिमेत गर्नेछु ।’

कानुन अभावको कारणले मुलुकभरका स्थानीय तहले सुकुम्बासी समस्याको समाधान गर्न नसकेको उनले बताए । ‘हाम्रो पालिकामा सुकुम्बासीको समस्या छ । तर नीतिको अभावले गर्दा हामीले व्यवस्थापन गर्न सकेनौँ,’ उनले स्मरण गर्दै भने, ‘अब सो विषयमा आवश्यक कानुन बनाउने  योजना छ । जुन कानुनले मुलुकभर कार्यान्वयन हुनेछ ।’

संघ र प्रदेशले स्थानीय सरकारको लागि आवश्यक नीति नबनाएको कारणले आफूहरूले समस्या नै समस्याको बीचमा कार्यकाल पूरा गरेको अनुभव सुनाउँछन्, अर्जुनधारा नगरपालिकाका निवर्तमान नगरप्रमुख हरिकुमार राना ।

उनले आफ्नो कार्यकालमा पालिकाको शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकतामा राखेर काम गरेको बताए । तर सो क्षेत्रमा सरकारले आवश्यक नीति र कानुन नबनाएकोले स्थानीय सरकार मारमा परेको उनको अनुभव छ ।

‘स्थानीय सरकारले कृषिको आधुनिकीकरणको काम गर्ने हो,’ उनले भने, ‘मौलिक प्रणालीको बीउविजनको संरक्षण गर्ने जिम्मेवारी संघ र प्रदेशको हो ।’

उनले संघ, प्रदेश र स्थानीय सरकारको जिम्मेवारीबारे नेताहरू जानकार नभएकाले गर्दा आफ्नो क्षेत्राधिकारअनुसारको काम नभएको आरोप लगाए । ‘नेतालाई आफ्नो क्षेत्राधिकारबारे जानकारी छैन । त्यसैले स्थानीय सरकारले समस्यामा नै आफ्नो कार्यकाल पूरा गर्न बाध्य भएँ,’ उनले भने ।

स्थानीय सरकारको समस्या समाधानको अनुभव लिएको व्यक्ति आउनुपर्ने उनको जिकिर छ । ‘मसँग स्थानीय सरकारको अनुभव छ । त्यसैले प्रतिनिधिसभाको उम्मेदवारी दिएको हुँ,’ उनले भने, ‘आफू नेतृत्वमा आएमा स्थानीय तहलाई सहज वातावरणको सिर्जना हुनेछ।’

उनले राजनीतिक परिवर्तन भएपनि जनताको समस्या समाधान हुन सकेको नसकेको दु:खेसो पोखे । ‘स्थानीय तहमा प्राप्त गरेको अनुभवको आधारमा जनताको समस्याको पहिचानसँगै निवारण गर्ने सक्नेछु,’ उनले भने ‘सामान्तवाद प्रथाको अन्त्य गर्नको लागि मेरो उम्मेदवारी हो । देशव्यापी रुपमा विगुल फुक्ने छ ।’

जनताको सेवाको लागि एक पार्टी वा दलको नभई एकजुट भएर काम गर्ने उनको योजना छ । ‘पार्टीभन्दा बाहिर रहेर जनताको सेवा गर्ने छु,’ उनले भने ।  उनले मुलुकभरका स्थानीय तहमा सुकुम्बासीको समस्या भएपनि संघीय र प्रदेश सरकारको वेवास्ताले गर्दा आवश्यक व्यवस्थापन हुन नसकेको उनले बताए ।

सुकुम्बासी समस्याको समाधान, शिक्षा, स्वारोजगारलगायत विषयलाई प्राथमिकतामा राखेर नीति र कानुन निर्माण हुनेको दावी छ ।

उनले आफूले स्थानीय तहको अनुभव गरेकोले सोही अनुरुप आफ्नो योजना निर्माण हुने बताए । नेपालको संविधान २०७२ ले स्थानीय सरकारको क्षेत्राधिकारको व्यवस्था गरेको छ । ‘तर भौगोलिक क्षेत्रको आधारमा काम गर्न सक्ने आधार निर्माण गरेको छैन,’ उनले भने, ‘हिजो संसदमा नभएको काम पूरा गर्नको लागि मैले उम्मेदवारी दिएको हुँ ।’

आफ्नो कार्यकालमा भोगेको समस्या पुन नहुने अवस्था सिर्जना गर्नको लागि आवश्यक नीति निर्माण हुने उनको दावी छ । ‘संविधानले स्थानीय तहको नीति निर्माण गरेको छ । केही ल्याउन सकेको छैन,’ उनले भने, हामी सोही कानुनको निर्माण गरी काम गर्ने छौँ ।’

आफूले स्थानीय तहको समस्या नजिकबाट नियालेको पार्टीले टिकट नदिए पनि स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेको उनले सुनाए । नेकपा एमालेबाट उम्मेदवारी दिने तयारी गरे । ‘तर पार्टीले टिकट दिएन र पार्टी परित्याग गरे,’ उनले भने, ‘स्वतन्त्रबाट उम्मेदवारी दिने तयारी थियो । तर गठबन्धनले अवसर दियो ।’जनताको माग र आवश्यकताको आधारमा स्थानीय तहको समस्या समाधानको लागि आफूले उम्मेदवारी दिएको उनले पालिकाखबरलाई बताए ।

पालिकामा गरेको कामको अनुभवको आधारमा प्रदेश सभाको लागि सक्षम भएको बताउँछन्, अमानसिं तामाङ । सिन्धुपाल्चोकको चौतारा साँगागढी नगरपालिकाको नेतृत्व सम्हालिसकेका तामाङले हाल निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश ‘ख’बाट उम्मेदवारी दिएका छन् ।

‘जनप्रतिनिधि नोकर र जनता मालिक हुन् । मैले पालिकाभित्रको जनताको मात्रै सेवा गरेँ,’ उनले भने, ‘पालिकासँगै प्रदेशको जनताको सेवा गर्ने इच्छा भएकोले मैले उम्मेदवारी दिएँ ।’

पार्टीले अवसर दिएकोले सोही अनुरुप काम गर्ने योजना उनको छ । ‘हिजो नगरपालिकाले पनि जनताले एक भोट एक व्यक्ति एक अमानसिं भन्ने अवधारणा ल्याएर जिताउनु भएको थियो,’ उनले स्मरण गर्दै भने, पाँच वर्षमा जनताको घरघरमा गएर सेवा गरेको छु र जित्ने विश्वास पनि छ ।

आफू निर्वाचित भएमा जनता र सरकारको हुलाकको रुपमा काम गर्ने उनले बताए । आफूले कार्यकारी पद सम्हाले पनि ठोस परिस्थिती र ठोस विश्लेषणको आधारमा प्रदेश सभामा उम्मेदवारी दिएको उनले पालिकाखबरलाई सुनाए । जनताको आवश्यकताको आधारमा पार्टीको निर्देशन र नीति अनुरुप प्रदेशसभामा रहेर काम गर्ने उनको योजना छ ।  संघ र प्रदेशको लागि सरकारले आगामी मंसिर ४ गते निर्वाचन गर्ने भएको छ । निर्वाचनको लागि आवश्यक तयारी हुँदै आएको छ ।

निर्वाचनको लागि इच्छुक व्यक्तिले उम्मेदवारी दर्ता गराइसकेको छन् । निर्वाचन आयोगको अनुसार प्रदेश सभा सदस्यका लागि ३ हजार २२४ र प्रतिनिधि सभा सदस्याका लागि २ हजार ४१२ गरी ५ हजार ६३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ती मध्ये ५३ जना स्थानीय तहको बागडोर सम्हालिसकेका जनप्रतिनिधि रहेका छन् ।

-पालिकाखबरबाट

पालिका प्रेस
थप जानकारी