फोटो सौजन्य: सरोज कुमार खाती

जताततै उम्रिएका झार र बुट्यान र सानो पर्यटकीय भवन । वि.सं. २०७६ फागुन अघिसम्म नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ को घ्याङस्वरा वनै जस्तो थियो । वस्तुभाउ पुग्दा चरणक्षेत्र जस्तै ।

अहिले उही ठाउँ तर मुहारै फेरिएको छ । वि.सं. २०७७ को चैत्र महिनाबाट प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ‘घ्याङस्वरा सहिद स्मारक पर्यटकीय स्थल निर्माण’ योजना लागू भएपछि त्यहाँको स्वरूप एकाएक बदलिएको हो । रोजगार कार्यक्रमकै कारण घ्याङस्वरा सहिद स्मारक पार्क तथा खेल मैदानका रूपमा विकास भएको छ ।

 घ्याङस्वरा पहिले जस्तो जिङ्रिङ्ग छैन । मान्छे जस्तै ठाउँ पनि फुर्तिलो देखिएको छ । वनको झारपात सफा गरिएको छ, नचाहिने खालका बुट्यान काटिएको छ । घ्याङस्वरा अहिले चिटिक्क भएको छ । वरिपरि फूलका विरुवा रोपिएका छन् । रुखहरू र हटाइएका छन् । पिकनिक खान आउनेहरूका लागि टहराहरू बनाइएका छन् । सहिद स्मारक सालिक निर्माण गरिएको छ । खानेपानीको व्यवस्था गरिएको छ, शौचालय निर्माण भएको छ । खेल मैदानलाई व्यवस्थित बनाउने कार्य भने भैरहेको ।

घ्याङस्वराको स्वरूप बदलिएपछि पञ्चकन्या गाउँपालिका–४,का सोनाली लामा चकित छन्, । ‘अहिले घ्याङस्वराको स्वरूप निकै बदलिएको छ, झन्डै ३६ महिना अघिसम्म बाटो पर्दा मात्र गइने त्यो ठाउँ अहिले जाउँ जाउँ लाग्ने भएको छ,’ उनी भन्छन् । घ्याङस्वरा पर्यटकीय स्थलका रूपमा विकास भएपछि उनी मात्रै होइन, स्थानीयहरु पनि दंग छन् । ‘पहिलो कुरा त यस योजनामार्फत यहाँका बेरोजगारले रोजगारी पाए । अर्को, कुरूप झाडी वन सुन्दर बन्यो’ उनी थप्छन्–‘अहिले पर्यटन विकासको ढोका पनि खुलेको छ ।’

फोटो सौजन्य: सरोज कुमार खाती

पञ्चकन्या गाउँपालिका–४ का सोनाली लामा लाई विगतका दिनमा चुलोचौकामै दिन बित्थ्यो । गाउँमा विकास निर्माणका काम त हुन्थ्यो, तर महिला जान पाउँदैनथे । आजभोलि बिहानै सबेरै उठेर चुलोचौको सकेर दिउँसोको खाजा बोकी विकास निर्माणको काममा पुग्ने लामाको दैनिकी जस्तै बनेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत गाउँमा विकास निर्माणको काम हुन थालेपछि यहाँका महिलाको दैनिकी फेरिएको हो ।

उनी भन्छिन्, ‘विकास निर्माणको लागि आवश्यक सामग्री र अन्य सिप अनुसारको काम गरिरहेका छौँ, पुरुषको भन्दा छिटो गरिरहेका छौँ ।’ विकास निमार्णका सहभागी हुँदा ज्ञान र सीपका साथै ज्याला पाउँदा निकै खुसी लागेको लामाको भनाइ छ । उनीजस्तै पञ्चकन्याका गाउँपालिका वडा ४ का ४० जना महिला प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत विकास निर्माणमा प्रत्यक्ष काम गर्दै आएका छन् ।

सोही वडामा बस्ने रजनी तामाङ पनि प्रधानमन्त्री रोजगार कार्यक्रमले आफ्नो परिवारलाई घर खर्च चलाउन सहज भएको बताउँछिन् । ‘परिवारको आर्थिक स्रोत नहुँदा घर खर्च चलाउनै मुस्किल थियो । त्यो (प्रधानमन्त्री रोजगार) कार्यक्रममा काम गरेपछि केही सहज भएको छ,’ उनी भन्छिन् ।

‘त्यसअघि कति पटक आर्थिक अभावको समस्या झेलेँ–झेलेँ’ उनी अतित् सम्झँदै भन्छिन्–‘ जेनतेन व्यवहार मिलाउँदै आएँ, कमाइ नहुँदा कहिलेकाहीँ त निकै अप्ठेरो व्यहोरे, मागौँ कसलाई माग्ने, नमागौँ कसरी समस्या टार्ने ?’ उनको परिवारमा श्रीमान् र ३ छोराछोरीसहित ५ जना छन् । तर, परिवारको आय आर्जनको माध्यम केही छैन । श्रीमान् पनि बेरोजगार रहेको उनले बताइन् । त्यही भएर उनले बेरोजगारको फर्म भरेको उनले सुनाइन् । सूचीकृत भएकी उनी प्रधानमन्त्री रोजगार योजनामा श्रमिकका रूपमा छानिएकी थिइन् । योजनामा श्रमिकमा छानिँदा आफू निकै खुसी भएको उनको भनाइ छ ।

गत आर्थिक वर्षमा सञ्चालित उक्त योजनामा ३६ हजार रुपैयाँ ज्याला पाएको रजनी बताउँछिन् । ‘उक्त रकमले घर व्यवहार चलाउन सहज भयो,’ उनी भन्छिन् । योजनाले पञ्चकन्या गाउँपालिका वडा नंम्बर ४ का स्थानिय लगायत गाउँका बेरोजगारको घर खर्च चलाउन सहज मात्रै बनाएको छैन, गाउँको आर्थिक विकासमा टेवासमेत पु¥याएको छ ।

स्थानीय चन्द्र तामाङ घ्याङस्वरा पर्यटकीय स्थलका रूपमा विकास भएपछि आन्तरिक पर्यटक धेरै आउन थालेको बताउँछन् । ‘यहाँ विद्यार्थीहरू पिकनिक खान आउन थालेका छन्, यसले यहाँको आर्थिक विकासमा टेवासमेत पु¥याएको छ,’ उनी भन्छन् ।

रोजगार संयोजक सरोज कुमार खाती पनि घ्याङस्वरा वनमा पर्यटकीय स्थल योजना सम्पन्न भएपछि आसपासको क्षेत्रको विकासमा टेवा पुगेको बताउँछन् । ‘ व्यवस्थित हुँदै गएको घ्याङस्वरामा पिकनिक खान आउन थालेपछि यो ठाउँको विकासमा टेवा पुगेको छ,’ उनी भन्छन् । उनी अबको केही वर्षमा यो स्थलले ख्याति पाउनेमा आशावादी छन् ।

घ्याङस्वरा पर्यटकीय स्थलको काम गुरु योजना बनाएर थालिएको गाउँपालिकाले जनाएको छ । सो योजनामा सुरु भएदेखि हालसम्म २०० जना (५० पुरुष र १५० महिला) बेरोजगारले ८० दिन काम गरेका थिए । उनीहरूको ज्याला रकम बैंक खातामार्फत भुक्तानी गरिएको उनले बताए ।

के भन्छन् जनप्रतिनिधि र कर्मचारी ?

गाउँपालिकाको अध्यक्ष तेज बहादुर तामाङ प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी नै रहेको बताउँछन् । ‘बेरोजगारलाई काम दिनु यो कार्यक्रमको राम्रो पक्ष हो,’ उनी भन्छन्–‘घ्याङस्वरा पर्यटकीय स्थल मेरो गाउँपालिकाको डिम्म प्रोजेक्ट भईसकेको छ ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणी काफ्ले पनि अध्यक्षको कुरामा सहमती जनाउँदै सूचीकृत बेरोजगारले रोजगारी पाउनु र यस्ता योजनाका निर्माण गर्नु यो कार्यक्रमको सबल पक्ष भएको बताउँछन् । ‘यो कार्यक्रमले स्रोतमा दोहोरोपनको समस्या हटाएको छ,’उनले भने । ससँगै यस कार्यक्रमका केही चुनौती पनि छन् । त्यो मध्ये एक हो– सूचीकृत बेरोजगारलाई काम नपाउनु भएको उनको भनाइ थियो । प्रमुख प्रशासकीय अधिकृत काफ्ले पनि सूचीकृत बेरोजगारको सानो हिस्सालाई मात्रै रोजगार दिन सकिएको बताउँछन् । ‘सूचीकृत बेरोजगार ३००/४०० जना छन् । त्यसको सानो हिस्सालाई मात्रै रोजगारी दिन सकिएको छ,’ उनी भन्छन्, ‘बजेट स्थिर हुँदा कतिपय अवस्थामा वास्तविक बेरोजगारलाई काम दिन सकेका छैनौँ ।’

यसरी बनाऔं प्रधानमन्त्री रोजगार कार्यक्रम कसरी प्रभावकारी

तामाङ प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगारलाई वर्षभरि रोजगारी दिनुपर्ने माग गर्छिन् । ‘वर्षभरि रोजगारी पाए घर खर्च चलाउन निकै सहज हुन्थ्यो,’ उनी भन्छिन् ।

प्रमुख प्रशासकीय अधिकृत काफ्ले योजनाका लागि सामग्री खरिद र श्रमिकको सीप विकासका लागि रकम छुट्याउन सके प्रधानमन्त्री रोजगार कार्यक्रम अझ बढी प्रभावकारी हुने सुझाव दिन्छन् । अहिले उक्त कार्यक्रम अन्तर्गतको बजेटको सबै रकम श्रमिकको ज्यालामा खर्च हुने गरेको छ ।
‘सामग्री खरिदमा केही रकम छुट्याउन सके योजना पनि दिगो हुने उनको विश्वास छ । हाम्रो पालिकाले उक्त कार्यक्रमका योजनामा सामग्री किन्न सहयोग गरिरहेको छ ,’ उनी भन्छन् ।

गाउँपालिकाकी उपाध्यक्ष बिमला के. सी. रोजगारीको दिन बढाउन सके कार्यक्रम अझ प्रभावकारी हुने बताउँछिन् । ‘अहिले यस कार्यक्रम अन्तर्गत १०० दिनको रोजगारी दिने गरिएको छ । तर, कति पालिकाले कार्यान्वयन हुन सकेको छैन,’उनी भन्छिन्, ‘पहिले यसलाई पूर्ण रूपले कार्यान्वयन गर्नुपर्छ । त्यसपछि रोजगारी दिन अझै बढाउनुपर्छ । अनि मात्रै बेरोजगारलाई जीवनयापनमा सहज हुन्छ, र, यो कार्यक्रम प्रभावकारी पनि हुन्छ ।’

पालिका प्रेस
थप जानकारी