सुर्खेतको वीरेन्द्रनगर पालिकालाई सुर्खेत सभाहल हस्तान्तरण गरिएको छ । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत संघीय आयोजना कार्यान्वयन इकाइ सुर्खेतले २७ करोड रुपैयाँ लागतमा निर्माण गरेको सभाहल बिहीबार नगरपालिकालाई हस्तान्तरण गरिएको हो । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको उपस्थितिमा औपचारिक कार्यक्रम गरी सभाहल हस्तान्तरण गरिएको हो ।

मन्त्री झाँक्रीले सभाहल व्यवस्थित रूपमा सञ्चालन गर्न सबै निकाय जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याइन् । ‘सभाहल निर्माण भएको छ । अब यसलाई सञ्चालन गर्न हलको मर्मत र यसमा लाग्ने जनशक्तिलाई आफैं पाल्न सक्ने गरी सञ्चालन गरिनुपर्छ,’ मन्त्री झाँक्रीले भनिन्, ‘कर्णाली प्रदेशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पु¥याउने गरी सञ्चालन गर्नुपर्छ ।’ मन्त्रालयका सचिव मणिराम गेलालले सभाहल सञ्चालनका क्रममा मर्मतसम्भारको विषयमा विशेष ध्यान दिन आग्रह गरे । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनालीले सभाहल निर्माणपछि सञ्चालनमा चुनौती भएकाले सबैले सहकार्य गर्नुपर्नेमा जोड दिए ।

प्रदेशस्थित निजी क्षेत्रले पनि व्यावसायिक वस्तु प्रदर्शनीजस्ता कार्य गरेर हलको आम्दानीमा योगदान गर्न सक्ने उनले बताए । उनका अनुसार यस्तै साना तथा ठूला सभाहल विभागले देशभर ४० वटा बनाउँदै छ । ७ वटै प्रदेशका राजधानीमा निर्माण गर्न लागिएका ठूला सभाहलमध्ये सुर्खेतमा निर्माण भएको सभाहल पहिलो भएको महानिर्देशक मैनालीले बताए । उनका अनुसार यो सभाहल बिमस्टेक, सार्क सम्मेलनजस्ता ठूला सभा सञ्चालन गर्न मिल्ने गरी निर्माण गरिएको छ । ०७३ चैतबाट निर्माण सुरु भएको सुर्खेतको सभाहल यो वर्ष निर्माण कार्य सम्पन्न भएको हो ।