मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ मा स्थानीयहरुले श्रमदान गरेर उदाहरण प्रस्तुत गरेका छन् । गाउँसम्म पुगेको सडकको नाला तथा खाल्डाखुल्डी पुर्नका लागि स्थानीयहरुले श्रमदान गर्न थालेका छन् ।

वडा कार्यालयले सहजीकरण गरेको श्रमदान अभियानमा स्थानीयहरु जुटेर काम गरेका हुन् । वडा कार्यालयसँग सीमित बजेट हुने भएकोले जनताको सहभागितामा गरिएको विकास कम लागत र बलियो हुने वडा अध्यक्ष हेमराज थिङले बताए । ‘वडाले आवश्यक खाजा उपलब्ध गराएको र श्रमदानमा आम जनता जुट्नु भएको छ’–अध्यक्ष थिङले भने । जनश्रमदानबाट भकुण्डे, काभ्रे, खर्क भञ्ज्याङ्, सिम्ले सडक अन्तर्गत सुनकालीदेखि छाप, जल्किन खोलासम्म ७ किलोमीटर सडकको नाली तथा खाल्डाखुल्डी पुरी मर्मत गरिएको अध्यक्ष थिङले जानकारी दिए ।

वडाको सहजीकरणमा शुरु भएको श्रमदान अभियानमा करिव ३ सय जनाको सहभागितामा रहेको थियो । श्रमदान मार्फत हुलाक डाँडा, काभ्रे वडा कार्यालयसम्म ३ किलोमीटर र सौरा गारेघर २ किलोमीटर सडक समेत जनश्रमदानबाट मर्मत गरियको अध्यक्ष थिङले बताए । श्रमदान अभियान आवश्यकता अनुसार पुनः संचालन गरिने थिङले बताए ।

पालिका प्रेस
थप जानकारी