मकवानपुर र सिन्धुली जिल्ला जोड्ने बागमती नदीमा निर्माणाधीन पक्की पुल निर्माण आगामी चैत मसान्तसम्म सम्पन्न हुने भएको छ । हेटौंडा–धरान–चतरा सडक खण्डअन्तर्गत पर्ने ४१३ मिटर लम्बाइको बागमती पुल निर्माण अन्तिम चरणमा पुगेको हो । राष्ट्रिय गौरवको योजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने मकवानपुरको बागमती गाउँपालिकाको वडा नम्बर ४ को बागमतीटार सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ जोड्ने उक्त पुल निर्माणमा ढिलाइ भएको जनगुनासोपछि बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मंगलबार स्थलगत निरीक्षण गरे ।

मुख्यमन्त्री पाण्डेले पुल निर्माणमा भएको ढिलाइले विकासमा गतिरोध ल्याएको बताउँदै निर्माण छिटो सम्पन्न गर्न निर्माण कम्पनी र मदन भण्डारी राजमार्ग योजना कार्यालयका कर्मचारीलाई निर्देशन दिए । उनले पुल निर्माणपछि मकवानपुर र सिन्धुलीका बासिन्दालाई आवागमनमा सहज हुने भन्दै बस्ती संरक्षणका लागि तटबन्ध निर्माण गर्न प्रदेश सरकारले पहल गर्ने बताए ।

सरकारले राष्ट्रिय गौरवका योजना समयमा सम्पन्न गर्नुपर्ने भन्दै कडाइ गरेपछि ठेक्का पाएको निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवा प्रालिले गत दुई वर्षदेखि निर्माणको काम अगाडि बढाएको थियो । हेटौंडा–चतरा–धरान सडकको दुई खण्डलाई सिन्धुलीबाट पूर्वतर्फ पूर्वी आयोजना र पश्चिमतर्फको खण्डलाई पश्चिमी क्षेत्र आयोजनामा विभाजन गरी निर्माण हुँदै आएको छ ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय हेटौंडा–सिन्धुलीका योजना प्रमुख राजेन्द्रप्रसाद दासले बागमती पुल निर्माणको भौतिक प्रगति ९० प्रतिशतभन्दा बढी सम्पन्न भएको बताउँदै पहुँच मार्ग र नदी तटबन्धको काम जारी रहेको जानकारी दिए । उनका अनुसार पुलको वेरिङ कोर्स, स्ल्याब कल्भर्ट, पुलको रेलिङमा रंगरोगन र पुल एवं पहुँच मार्गमा कालोपत्रे गर्ने कार्य बाँकी छ ।

निर्माण कम्पनीले मधेस आन्दोलन, भूकम्प, बन्दाबन्दीका कारण पुल समयमा सम्पन्न नभएको बताउँदै आएको छ । २९ असार ०६८ मा निर्माण कम्पनीले पाँच वर्षभित्र सम्पन्न गर्ने गरी २३ करोड ५३ लाख ९८ हजार ३४४ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । छैटौँ पटक म्याद थप भएको पुल निर्माण आगामी ३० चैतसम्म सम्पन्न गर्ने गरी म्याद थप भएको छ ।

निर्माण कम्पनीका प्रबन्ध निर्देशक जयराम लामिछानेले डिजाइन परिवर्तन गर्नुपर्ने, निर्माण जिम्मा लिएको दोस्रो पक्षले काम नगरेको र प्राविधिक जटिलतालगायतका कारणले पुल निर्माणमा ढिलाइ भएको बताए । ‘पुल निर्माणको भौतिक प्रगति ९० प्रतिशतभन्दा बढी भएको छ’, प्रबन्ध निर्देशक लामिछानेले भने,‘आगामी १५ वैशाखभित्र पुल निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्नेछौँ ।’

अघिल्लो वर्ष बागमतीमा आएको बाढीले बनाएको संरचनामा समेत क्षति पु¥याएपछि निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ  ।स्थानीय फणिन्द्र तिमिल्सिनाले बागमतीमा पुल निर्माण पूरा भएपछि सिन्धुलीलगायतका जिल्लाका बासिन्दालाई बागमती प्रदेशको राजधानी हेटौंडा पुगेर आफ्नो काम गर्न सहज हुने बताउँदै वर्षायाममा स्थानीय बासिन्दाले टायरको ट्युबमा जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता हट्ने जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी