भीमफेदी–काठमाडौं छोटो दूरीको मार्ग अन्तर्गतको भैँसेदेखि भीमफेदीसम्मको सडकको स्तरोन्नति कार्य सुस्ताएको छ । शिलान्यास भएको करिव साढे एक वर्षसम्म पनि सो सडक स्तरोन्नतिले तीव्रता पाउन नसकेको हो । ठेक्का अवधि सकिन करिव ६ महिनामात्र बाँकी छ तर भौतिक प्रगति भने देखिएको छैन । निर्माण कम्पनी विभिन्न बहाना गर्दै ठेक्का लम्ब्याउने पक्षमा लागेको छ भने निर्माणको रेखदेख लगायतको काम गरिरहेको प्रदेश यातायात पूर्वाधार विकास निर्देशनालय हेटौंडा ठेक्का अवधि थप गर्ने तयारीमा छ ।

हाल सो सडक फराकिलो पार्ने, पर्खाल लगाउनेजस्ता कार्य भइरहेको छ । भैँसेदेखि केही माथिबाट सडकलाई डाइभर्सन गरेर खोलाबाट सवारी सञ्चालन गरिएको छ भने निर्माण कम्पनीले सडकमा स्काभेटर प्रयोग गरेर खन्ने, माटो पन्छाउने जस्ता कार्य गरिरहेको छ । अहिलेसम्म सो सडकको भौतिक प्रगति भने १५ प्रतिशतमात्र छ ।

बागमती प्रदेशका तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले सो सडक स्तरोन्नतिका लागि निर्माण कार्यको शिलान्यास गरेका थिए । २०७७ असार २४ गते कुल ३८ करोड ७८ लाख ८९७ रुपैयाँ लागतमा सडक स्तरोन्नति कार्यको ठेक्का सम्झौता गरिएको थियो ।

स्तरोन्नतिका लागि भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको प्रदेश यातायात पूर्वाधार कार्यालयले निर्माण कम्पनी आशिष/डिएस जेभीसँग ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले आगामी २०७९ सालको असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने हुन्छ । तर योजना अनुसार काम नभएकाले समयमै निर्माण सम्पन्न हुन नसक्ने निश्चित भएको छ ।

राणाकालमा काठमाडौंबाट चित्लाङ हुँदै भीमफेदी भएर तराई आउने मूलबाटोको रुपमा रहेको करिब ११ दशमलब ५ किलोमिटर लम्बाइको सो सडकलाई १० मिटर फराकिलो बनाउने उद्देश्य अनुसार काम सुरु गरिएको थियो ।

निर्माण कम्पनीले सो सडक चौडा पार्ने, नाला निर्माण गर्ने, तारजाली एवं पर्खाल लगाउने तथा कालोपत्रे गरेर हस्तान्तरण गर्नुपर्ने प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ ।

सडक स्तरोन्नति कार्यमा ढिलाई किन ?

भैंसे–भीमफेदी सडकमा केही निजी घर परेकाले मुआब्जा विवाद छ । कोरोना संक्रमण जोखिमले पनि सडक स्तरोन्नति कार्यमा प्रगति नभएको प्रदेश यातायात पूर्वाधार विकास निर्देशनालय बागमती प्रदेशका निमित्त निर्देशक सहदेव बहादुर भण्डारी बताउँछन् ।

स्तरोन्नति गरिने क्षेत्रमा केही निजी घरटहरा पनि रहेकाले त्यसको व्यवस्थापन गर्दै निर्माण कार्य गर्नु परेकाले ढिलो भएको उनी बताउँछन् । कोरोना, जग्गाको स्वामित्व विवाद जस्ता कारणले सडक स्तरोन्नति कार्यले सोचेजस्तो प्रगति हासिल गर्न नसकेको उनले बताए ।

‘सो सडक क्षेत्रमा केही निजी घर पनि परेका छन् । उहाँहरुले मुआब्जा माग गर्नु भएको छ । हामी त्यसको समाधानमा लागेका छौं । विगतदेखि नै यो समस्याले निर्माण कार्य प्रभावित हुँदै गएको थियो,’ उनले भने, ‘त्यसैले पनि निर्माण कार्य समयमा पूरा हुने अवस्था रहेन ।’

भीमफेदी गाउँपालिकाको २, ४ र ६ नम्बर वडा हुँदै सडकको स्तरोन्नति गर्नुपर्ने भएकोले ती क्षेत्रमा करिव ४० घरहरु रहेको र त्यसैको व्यवस्थापन गर्न नसक्दा काममा ढिलाई भएको उनी बताउँछन् ।

‘हामी लगभग सहमति नजिक पुगेका छौं । सबैभन्दा बढी आवास क्षेत्र ४ नम्बर वडामा परेको थियो । हामीले विभिन्न चरणमा विवाद समाधानका लागि प्रयास गरेपछि अहिले काम भइरहेको छ,’ उनले भने, ‘त्यसमा स्थानीय तह र जनप्रतिनिधिहरुको भूमिका पनि महत्वपूर्ण रह्यो । हामी निजी जग्गामा बनेका घरहरुलाई मुआब्जा वितरणको तयारीमा छौं ।’

करिव ४० घर परिवारलाई २ करोड २१ लाख ८३ हजार रुपैयाँ मुआब्जा दिने तयारी रहेको उनले बताए । उनका अनुसार केही घर सार्वजनिक क्षेत्रमा बनेका कारण त्यस्ता घरको मुआब्जा दिन नसकिने भएकाले ती घरलाई सडक क्षेत्रबाट हटाउन घरधनीलाई आग्रह गरिएको छ ।

२ वटा पुलको ठेक्का निकाल्ने तयारी

निर्देशनालयले सो सडक क्षेत्रमा पर्ने पुलको पनि ठेक्का निकाल्ने तयारी थालेको छ । सो सडक क्षेत्रमा कुल ५ वटा पुल पर्ने र क्रमिक रुपमा त्यसको ठेक्का आह्वान गरेर निर्माण गर्ने तयारी निर्देशनालयको छ ।

निमित्त निर्देशक भण्डारीका अनुसार निर्देशनालयले केही महिनाभित्रै सो सडक अन्तर्गत पर्ने २ वटा पुलको ठेक्का आह्वान गर्ने तयारी गरेको छ ।

तत्कालका लागि सो सडक क्षेत्रमा पर्ने २ वटा लामो पुलको ठेक्का आह्वानको तयारीमा रहेको उनले बताए । ‘हामी २ वटा पुलको ठेक्का आह्वान गर्ने तयारीमा छौं । सो सडकमा पर्ने ४० मिटर लम्बाईको ढोका खोला पुल र ६० मिटर लम्बाईको माण्डु खोला पुलको ठेक्का आह्वानको तयारी भइरहेको छ,’ उनले भने ।

माण्डु खोला पुल हाल भइरहेको स्थानभन्दा केही तलबाट निर्माण गरिने उनले बताए । बाँकी रहेका ३ वटा साना पुल पनि क्रमिक रुपमा निर्माण गरिने उनले बताए ।

गणेश विष्ट
थप जानकारी