मकवानपुरमा लम्पी स्किन नियन्त्रण गर्न पालिकाहरुले प्रयास थालेका छन् । पर्याप्त प्राविधिक जनशक्ति नहुँदा समस्या पनि छ । तर, मकवानपुरका गोठ–गोठमा पशु बिरामी परेपछी किसान चिन्तित छन् । दूध उत्पादन पनि घटेको छ । धेरै पशु मरेका पनि छन् । मकवानपुरका दश वटै पालिकामा महामारीका रुपमा लम्पी स्किन रोग देखा परेको छ ।

मकवानपुरगढी गाउँपालिकामा भने लम्पी स्किन रोग नियन्त्रणमा आउन थालेको छ । गढी गाउँपालिकाले आफ्ना विभिन्न वडा मार्फत लम्पी स्किन रोग लागेका पशुमा ३५ डोज भ्याक्सीन लगाएको गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानले बताए । गढी गाउँपालिका र पशुसेवा विज्ञ केन्द्र मकवानपुर मार्फत खरिद गरिएको भ्याक्सीन लगाएपछी धेरै जसो पशुमा लागेको यो रोग नियन्त्रणमा आएको उनले बताए ।

मकवानपुरका १० वटै स्थानीय तहमा लम्पी स्किन फैलिएपछि पशुपालक किसान समस्यामा परेका छन् । यो रोगकै कारण दूध उत्पादन निकै घटेको किसानहरुको गुनासो छ । लम्पी स्किन रोगले गाईवस्तु मर्न थालेपछि यहाँका बिभीन्न स्थानीय तहहरुले लम्पी स्किन रोगविरुद्ध भ्याक्सिन लगाइदिएका छन् । मकवानपुरका दश वटै स्थानीय तहमा लम्पी स्किन रोगकै कारण धेरै पशुको मृत्यु समेत भएको छ । केही महिना अगाडी देखिनै यो रोगको समस्याका कारण यहाँका किसानले गाइ, भैसी पालनमा समस्या भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । बिशेषगरी हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मकवानपुरगढी गाउँपालिका, भीमफेदी गाउँपालिका, बकैयाँ गाउँपालिका, बागमती गाउँपालिका, मनहरी गाउँपालिकाका किसानहरु लम्पी स्किन रोगका कारण चिन्तित बनेका हुन् । यहाँ सुरुवाती चरणमा लम्पी स्किन रोगका लागि खोपको मान्यता थिएन । खोपको स्वीकृति पाएसँगै पालिकाहरुले खोप खरिद गरेर पशुमा लगाएका हुन् ।

लम्पी स्किन रोग तीव्र गतिमा फैलिन थालेको र यसको उपचार पद्धति महँगो हुँदा पशुपालक किसानलाई उपचारमा व्यापक आर्थिक भार पर्ने भएकाले पालिकाहरुले खोप खरिद गरी निःशुल्क रुपमा उपचार गरेका हुन् । रोगको नियन्त्रण र रोकथाम गर्नका प्राविधिकहरुलाई किसानको गोठगोठमा खटाएर लम्पी स्किन रोग लागेका पशुको निरन्तर जाँच तथा निःशुल्क रुपमा उपचार गरिरहेको पालिकाका पशु प्राबिधिक कर्मचारीहरु बताउँछन् ।

पशुमा रोग लागेर चिन्तित बनेका पशुपालक किसान निःशुल्क उपचारसहित खोप पाउँदा हर्षित भएका छन् । काप्री पक्स भाइरसको सङ्क्रमणबाट विशेषगरी गाईमा लाग्ने यो रोग भैँसीमा भने विरलै देखिन्छ । लम्पी स्किन रोग लागेका गाईवस्तुमा उच्च ज्वरो आउने र शरीरभरि साना(ठूला गिर्खा देखिने लक्षण देखिएको छ । शरीरका विभिन्न ठाउँमा विशेषगरी घाँटी, पछाडिको भाग, पेट र थुनवरिपरि १० देखि ५० मिलिमिटरसम्मका गिर्खा देखिन्छन् । यसका साथै कचेरा निकाल्ने, सिँगान बग्ने तथा फिँज धेरै निकाल्ने, ‘लिम्फ नोड’हरू सुनिने, घाँटी तल पानी भरिने, दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने, गर्भ तुहिने र पछि बाँझोपन देखिन सक्नेजस्ता लक्षण देखिने गरेको छ ।

पालिका प्रेस
थप जानकारी