मकवानपुरका १० वटा स्थानीय तहमध्ये ३ वटा पालिकाले काम सम्पन्न हुन नसकेका योजना बाहेकको हकमा २४ असार भित्र योजना र कार्यक्रमको खर्चअनुसार भुक्तानी निकासा बन्द गरिसकेका छन् । जिल्लाको ७ वटा पालिकाले भने समयमै फाइल नल्याएका कारण र २४ असारमा सुत्रप्रणालीलाई देखाएर भुक्तानी दिन सकेका छैनन् ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम १, ३, ७ र ८ बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तिमा ७ दिन अगावै निकासा र खर्चको लेखाङ्कन तथा भूक्तानी निकासा बन्द गर्नुपर्ने कानूनी प्रावधानलाई ७ पालिकाले अक्षरसः पालना गर्न नसकेका हुन् । चालू आर्थिक वर्षमा बिनियोजित बजेटको खर्च सतप्रतिशत नभएता पनि निकासा र खर्चको लेखाङ्कन तथा भूक्तानी निकासा बन्द गर्नेमा थाहा नगरपालिका, कैलाश गाउँपालिका र बकैया गाउँपालिका छन् ।

थाहा नगरपालिकाले २४ असार अगावै भुक्तानी प्रक्रिया टुंग्याइसकेको थाहाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी बताए । उनले १५ असारभित्रै महत्वपूर्ण योजनाको भुक्तानी दिएको र २४ असारमा दिउँसै हिसाब मिलान गरिसकेको जानाकरी दिए । ‘हामीले १५ असारमै सबै काम सक्ने योजना बनाएर काम गरेका थियौं । जसकारण २४ असारको सुत्रप्रणाली बन्दको चिन्ता हामीलाई भएन् । काम सम्पन्न हुन नसकेको बाहेक सबै खर्चको भुक्तानी भइसकेको छ । सम्भवतः २४ असार अगाडि नै भुक्तानी दिएर फरफारक गरिसक्ने थाहा नगरपालिका देशमै पहिलो होला ।,’ गिरीले भने । थाहा नगरपालिकाले चालु आर्थिक वर्षमा ८० दशमलव ५९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको लेखा अधिकृत हरिबहादुर खपाङ्गी मगरले जानकारी दिए । यो प्रगति गत आर्थिक वर्ष २०७८÷७९ को तुलनामा १ दशमलव ७९ प्रतिशत बढी हो ।
थाहानगरले चालू आर्थिक वर्ष २०७९÷८० का लागि विनियोजित १ अर्ब १९ करोड २६ लाख ११ हजार ८ सय ६२ मध्ये ९४ करोड ६७ लाख ३८ हजार ८ सय ५६ रुपैयाँ खर्च भएको लेखा अधिकृत खपाङ्गीमगरले जानकारी दिए । असारको अन्तिम साताअघि भुक्तानीको चाप बढ्ने भएकाले कार्ययोजनासहित भूक्तानी प्रक्रिया अघि बढाइएकोले सफलता हासिल भएको उनले बताए । ‘सेड्युल बनाएर काम नगरे अन्तिममा कागजात चेकजाँच र अनुगमनलाई प्रभावकारी बनाउनै सकिन्न ।’, लेखा अधिकृत खपाङ्गी मगरको भनाइ थियो ।

यसैगरी, कैलाश गाउँपालिकाको चालु आव २०७९÷८० को स्वीकृत वार्षिक नीति तथा कार्यक्रमअनुसार सबै भुक्तानी दिइसकेको प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले जानकारी दिए । उनका अनुसार चालु तर्फ ८५ दखशमलव ९५ प्रतिशत, पुँजिगत तर्फ ६४ दशमलव ०२ प्रतिशत र समग्रमा ७७ दशमलव ३४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको हो । सुत्रप्रणालीमार्फत भुक्तानी कार्य सम्पन्न भएको विष्ट बताउँछन् । बकैया गाउँपालिकाले पनि भुक्तानी कार्य २४ असार भित्रै सकेको हो । तर, बकैयामा योजना नै सम्पन्न नभएका कारण ४–५ वटाको भुक्तानी भने रोकिएको हो । सुत्रप्रणालीका कारण भुक्तानी भने नरोकिएको प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले जानकारी दिए । बकैयाको वित्तीय प्रगति ७९ दशमलव ७३ प्रतिशत छ ।

यसैगरी, भुक्तानी दिन नसक्ने स्थानीय तह हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका, राक्सिराङ गाउँपालिका, इन्द्रसरोबर गाउँपालिका, मनहरी गाउँपालिका, भीमफेदी गाउँपालिका र बागमती गाउँपालिका रहेका छन् । हेटौंडा उपमहानगरले सुत्रप्रणालीमा समस्या आएका कारण भुक्तानी रोकिएको लेखाअधिकृत जेकप श्रेष्ठले बताए । उनले हेटौंडाको अनुमानित ७५ प्रतिशत वित्तीय प्रगति रहेको बताउँदै करिब ४० वटा योजनाको भुक्तानी रोकिएको बताए । राक्सिराङ गाउँपालिकामा सुत्रप्रणालीमा समस्या आउँदा २०–३० लाखको भुक्तानी रोकिएको प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला बताउँछन् । ८० प्रतिशत बढी वित्तीय प्रगति कटाएको राक्सिराङले आगामी आवमा भुक्तानीका लागि दायित्व सार्ने उनले बताए । चालु आवमा ७६ दशमलव ४४ प्रतिशत वित्तीय प्रगति गरेको इन्द्रसरोबर गाउँपालिकामा करिब ५२ लाख रुपैयाँ भुक्तानी रोकिएको छ । लेखाअधिकृत सन्तोष बञ्जाराका अनुसार २१ लाख बजेटको पञ्चकन्या मावि ट्रस निर्माणको भुक्तानी फाइल २४ असार ५ बजेपछि आएको र ३१ लाख बजेटको खानेपानी योजनाको भुक्तानी फाइल २४ असार रातको साढे ११ बजे आएकाले भुक्तानी रोकिएको हो ।

त्यसैगरी ८० दशमलव ६७ प्रतिशत वित्तीय प्रगति गरेको बागमती गाउँपालिकामा पनि भुक्तानी रोकिएको र हिसाब खुल्न बाँकी रहेको सूचना अधिकारी दिनेश गुप्ताले बताए । भीमफेदी गाउँपालिकामा करिब ७५ प्रतिशत वित्तीय प्रगति भएको र करिब १ करोड रुपैयाँ भुक्तानी हुन नसकेर दायित्व सार्नुपर्ने भएको गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिए । ७० दशमलव ७ प्रतिशत वित्तीय प्रगति गरेको मनहरी गाउँपालिकाले १ करोढ बढी रकम भुक्तानी दिन बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले जानकारी दिए । मकवानपुरगढी गाउँपालिकामा पनि करिब ५ करोड रुपैयाँ भुक्तानी रोकिएको योजना शाखाप्रमुख प्रकाश न्यौपानेले जानकारी दिए । मकवानपुरगढीले चालु आवमा ६१ प्रतिशत बढी खर्च गरेर ७० प्रतिशत वित्तीय प्रगति हासिल गरेको न्यौपाने बताउँछन् ।

पालिका प्रेस
थप जानकारी