मकवानपुरकै १० वटा स्थानीय तहले काम गर्दा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा उजुरीको चाङ छ । उजुरीको संख्या एकवर्षमै चौबर बढीले वृद्धि भएको छ । अख्तियार कार्यालय हेटौंडामा मकवानपुरबाट आर्थिक वर्ष २०७८÷०७९ मा ८४ वटा मात्रै उजुरी परेको थियो । तर, त्यसको एक वर्षभित्रमा उजुरी संख्याको ग्राफ ह्वात्तै माथि चढेको छ । गत आव ०७९÷८० को असार मसान्तसम्म उजुरी ३ सय ८३ वटा परेको अख्तियार कार्यालयका उपसचिव तथा सूचना अधिकारी विष्णु सापकोटाले जानकारी दिए ।

दुई आर्थिक वर्ष (आ.व.)मा गरेर मकवानपुरबाट अख्तियारमा ४ सय ६७ उजुरी दर्ता भएको हो । दर्ता भएका कुल उजुरीमध्ये गत आवको असारसम्म २ सय ८३ वटा उजुरी फछर््यौट भएको सूचना अधिकारी सापकोटाले जानकारी दिए । आव ०७८÷७९ को ८४ उजुरीमध्ये ६१ वटा र गत आव ०७९÷८० को ३ सय ८३ उजुरीमध्ये २ सय २२ वटा उजुरी फछर््यौट भएको हो । हेर्न बाँकी उजुरी जम्मा १ सय ८४ वटा रहेको सापकोटाले जानकारी दिएका छन् । अख्तियार कार्यालयको बागमती प्रदेशको मकवानपुरसहित चितवन, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा तथा मधेश प्रदेशको बारा, पर्सा रौतहट कार्यक्षेत्र रहेको छ । अख्तियार कार्यालयले भौगोलिक रुपले विकट र टाढा भएकाले रसुवा र दोलखामा प्रमुख जिल्ला अधिकारीलाई अधिकार प्रत्यायोजन गरेर काम गरिरहेको छ ।

अख्तियार कार्यालयमा परेको उजुरीको करिब ८० प्रतिशत तराईका जिल्लाको रहेको सूचना अधिकारी सापकोटाले जानकारी दिए । कार्यालयको कार्यक्षेत्र भएका १२ जिल्लामा एकवर्षमा १८ सय ३१ वटा उजुरी परेका छन् । यसबाहेक ४ सय ९५ वटा उजुरी गत आर्थिक वर्ष २०७८÷७९ को जिम्मेवारी सरेर आएको छ । गत आव ०७९÷८० मा अहिलेसम्म कै सबैभन्दा धेरै उजुरी परेको सूचना अधिकारी सापकोटाले जानकारी दिएका छन् । देशभर आयोगको ८ वटा कार्यालय रहेकोमा हेटौंडामा सबैभन्दा धेरै उजुरी परेको उनले बताए । विगतको वर्षलाई तुलना गर्दा र पछिल्लो ७ वर्षलाई मात्रै हेर्ने हो भनेपनि गत आवको उजुरी अत्यधिक मात्रामा बढेको देखिन्छ । सूचना अधिकारी सापकोटाका अनुसार आव ०७२÷७३ को एक वर्षको अवधीमा कुल एक हजार तीनसय ८५ वटा उजुरी परेको थियो । आव ०७४ मा सातसय ९८, ०७४÷७५ मा सातसय ६९, ०७५÷७६ मा एक हजार एकसय, ०७६÷७७ मा एक हजार एकसय २७ र ०७७÷७८ मा १ हजार ६ सय उजुरी परेका थिए । स्थानीय तहमा धेरै उजुरी पर्नुले अनियमितताको घटना पनि बढेको देखिन्छ । कार्यालयमा सबैभन्दा धेरै बाराका स्थानीय तहविरुद्ध ५ सय ४१ वटा उजुरी परेको सापकोटाले बताए । सबैभन्दा कम रसुवाको स्थानीय तहविरुद्ध ३ वटामात्र उजुरी परेको छ । त्यस्तैगरी दोस्रोमा पर्साको स्थानीय तहविरुद्ध ४ सय ९९ वटा उजुरी परेका छन् । उजुरी पर्नेमा मकवानपुर जिल्ला तेस्रो नम्वरमा रहेको छ ।

अख्तियारमा रसिद दुरुपयोग भएका प्रवृतिका उजुरी सबैभन्दा बढी पर्ने गरेका छन् । कार्यालयमा शिक्षा क्षेत्र, सार्वजनिक जग्गाको संरक्षण, सामाजिक सुरक्षा भत्ता, राजश्व चुहावट र अपचलन जस्ता विषयका उजुरीहरु दर्ता भएका छन् । सार्वजनिक खरिद र निर्माणसँग सम्बन्धि उजुरी, उपभोक्ता समितिसँग सम्बन्धित उजुरी, प्रशासनिक कार्य र तालिम क्षमता विकास सम्बन्धका उजुरीहरु परेका छन् । प्रायः सेवाप्रवाह र नदीजन्य पदार्थ उत्खनन् तथा प्राकृतिक स्रोतको उपयोग सम्बन्धित उजुरी छ ।

पालिका प्रेस
थप जानकारी