मकवानपुरको विकट गाउँपालिका राक्सिराङ गाउँपालिकाले विद्युतीय सुशासन प्रणाली अवलम्बन गर्ने भएको छ । गाउँपालिकाको आर्थिक, सामाजिक, भौगोलिक र सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सकिने तवरले पालिकाले विद्युतीय सर्भर तयार पारेर विद्युतीय सुशासन प्रणाली अवलम्बन गर्ने तयारी गरेको हो । पालिकाको वर्तमान अवस्था बारे सरोकारवाला निकायहरुले  जानकारी लिन सक्ने र विकास निर्माणका आवश्यक योजना तयार पारेर कार्यान्वयन गर्न सहज हुने भएकाले विद्युतीय सुशासन प्रणाली अवलम्बन गर्ने तयारी गरेको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।

पालिकाले गत पुस ३० गते बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री चेपाङसहित गाउँपालिकाका जनप्रतिनिधिले विद्युतीय सुशासन प्रणालीको उद्घाटनसमेत गरेका हुन् । पालिकाले उक्त विद्युतीय सुशासन प्रणालीमा पालिकाका २४ हजार जनसंख्याको डिजिटल व्यक्तिगत विवरण समावेश गरीसकेको छ । केही व्यक्तिहरु छुटेको भन्ने जानकारी आएकाले उनीहरुको विवरण पनि थप गर्दै जाने अध्यक्ष मल्लले बताए ।

पालिकाले स्मार्ट पालिका प्रा.ली मार्फत् वडा वडामा सर्वेक्षण गरेर नागरिकहरुको डिजिटल प्रोफाइल, समाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक तथा शैक्षिक विवरणहरू तयार पारेको उनको भनाई छ । भू स्वामित्व नभएका व्यक्तिहरुको विवरण पनि सो प्रणालीमा समावेश गरीएको उनले बताए ।

विद्युतीय सुशासन प्रणाली अन्तर्गत पालिकाले वडागत जनसंख्या, धर्म, साक्षरता लगायतका विवरण समावेश गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले रातोपाटीलाई जानकारी दिए । सो प्रणालीमा सार्वजनिक स्थल, विद्यालय, स्वास्थ्य संस्थाको विवरण पनि अनलाइनमार्फत नै हेर्न सकिने गरी व्यवस्था गरिएको छ ।

गाउँपालिकाले सो प्रणाली मार्फत् भू उपयोग नीति तथा भूमि व्यवस्थापन योजना पनि बनाएको छ । पालिकाले जग्गा नभएका व्यक्तिहरुको विवरण पनि सो प्रणालीबाट सजिलै हेर्न सकिने व्यवस्था मिलाएको छ ।

विद्युतीय सुशासन प्रणालीमा पालिकामा बसोवास गर्दै आएका व्यक्तिहरुको विवरणसहित घरमुलीको फोटोसहितको विवरण अनलाइनमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै सो प्रणालिमा जिपीएस सिस्टम समेत जडान गरीएकाले व्यक्तिगत विवरण अनुसार उसको बसोवास स्थानसमेत सजिलै पत्ता लगाउन सकिने उनले बताए ।

पालिका भित्र भएका विकास निर्माण तथा सेवा प्रवाह बारे जनगुनासो पनि अनलाइनमार्फत सिधै गाउँपालिका अध्यक्षलाई राख्ने सकिने व्यवस्था गरिएको छ ।

विद्युतीय सुशासन प्रणाली मार्फत् अध्यक्षलाई गुनासो गर्न सहज होस् भन्ने उद्देश्यका साथ ‘हेल्लो अध्यक्ष’ प्लग राखिएको उनले बताए । सो प्लगमा आफ्ना गुनासो लेखेर पठाएपछि त्यसको एक्सिस कन्ट्रोल रुम र अध्यक्षसंग मात्र हुने उनको भनाई छ । गुनासोको अध्ययन गरी पालिकाले आवश्यक निर्णय समेत लिने प्रमुख प्रशासकीय अधिकृत गर्तौलाले बताए ।

न्ययिक समितिमा समेत उजुरी दिन सकिने

भौगोलिक रुपमा विकट रहेको राक्सिराङमा समस्यामा परेका व्यक्तिहरुको न्यायमा पहुँच पु¥याउने उद्देश्य अनुसार न्यायिक समितिमा समेत उजुरी दिन सक्ने व्यवस्था रहेको गर्तौलाले बताए ।

विगतमा विभिन्न समस्यामा परेका व्यक्तिहरु डर, धम्कीका कारण पालिका वा वडासम्म आएर उजुरी दिन नसक्ने अवस्थाका घटनाहरु आउने गरेको र उनीहरु अन्यायमा पर्ने गरेका थिए । त्यसको न्यूनीकरणको लागि विद्युतीय सुशासन प्रणालीको प्रयोग गरेर न्यायिक समितिमा समेत उजुरी गर्न सकिने व्यवस्था गरिएको उनले बताए ।

उनका अनुसार यो प्रणालीबाट उजुरी गर्दा गोपनियता पनि हुने र कसैको डर, धम्कीबाट प्रभावित हुनु नपर्ने भएकाले पनि पालिकाले यस विषय समावेश गरेको हो ।

यसले आम नागरिकहरुको न्यायमा पहुँच पुग्ने र समस्यामा परेका, पालिकासम्म आउने अवस्था नरहेका व्यक्तिहरुलाई सहज हुने उनको भनाई छ ।

सेवा प्रवाहलाई पनि डिजिटल बनाउने योजना

राक्सिराङ गाउँपालिकाले पालिका र वडाहरूबाट प्रदान गरी सेवाहरुलाई पनि डिजिटल बनाउने योजना बनाएको छ । पालिकाको सेवाहरु नागरिकले घरबाटै लिन सक्ने वातावरण बनाउने उद्देश्य अनुसार पूर्वाधार निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाएको गाउँपालिकाले जनाएको छ ।

डिजिटल रुपमा सेवा प्रवाह गर्नका लागि पालिकाले पूर्वाधारहरुको निर्माणलाई प्राथमिकतामा राखेर काम गरी रहको प्रमुख प्रशासकीय अधिकृत गर्तौलाले बताए ।

‘हामी सबै वडाहरूमा इन्टरनेट सेवा विस्तारको लागि काम गरी रहेका छौ । भौतिक तथा इन्टरनेट पूर्वाधारको काम सम्पन्न गर्न हामी प्रयासरत रहेका छौ । त्यसको लागि केही समय लाग्न सक्छ । हामी सेवा प्रवाहलाई पनि सो प्रणालीका जोड्ने योजना अनुसार प्रयासरत छौ ।’ उनले भने ।

पालिका प्रेस
थप जानकारी