दोलखाको भीमेश्वर नगरपालिकाको मुख्य सहरी क्षेत्रमा स्मार्ट सडक बत्ती जडान गरिने भएको छ । भीमेश्वर नगरपालिका तथा विद्युत् प्राधिकरणको सहकार्यमा नगरपालिकाको मुख्य सहरी क्षेत्रमा स्मार्ट सडक बत्ती जडान गरिने भएको हो ।

भीमेश्वर नगरपालिकाको ६० प्रतिशत तथा विद्युत् प्राधिकरणको ४० प्रतिशत लगानीमा नगरपालिकाको मुख्य सहरी क्षेत्र चरीकोटका विभिन्न भागमा स्मार्ट सडक बत्ती जडान गर्न लागिएको भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले जानकारी दिए । अहिले ठेकेदारले पोल गाड्ने तथा तार तान्ने काम गरिरहेको उनको भनाइ छ ।

ठेक्का स्वीकृत रकमको ६० प्रतिशत स्वरुप भीमेश्वर नगरपालिकाको ५० लाख तथा विद्युत् प्राधिकरणको ४० प्रतिशत गरी ३३ लाख ३३ हजार रुपैयाँ बेहोरेको भीमेश्वर नगरपालिकाले बताएको छ । नगरपालिकाको मुख्य बजार क्षेत्र चरीकोट सिमपानी मानेडाँडा, चरिघ्याङ, बीचबजार, नयाँ बसपार्क, पुरानो बजार, ध्यावपानी, सातडोबटेलगायत क्षेत्रका सडकमा स्मार्ट बत्ती जडान गरिनेछ । करिब चार किलोमिटर सडकमा स्मार्ट सडक बत्ती जडान गर्न ४४ वटा पोल गाडिएको भीमेश्वर नगरपालिकाका इन्जिनियर सुरेश राउतले बताए । पोलमा २०० वाटका बत्ती जडान गरिनेछ । सातडोबाटे चोक तथा पशुपति मन्दिर आसपासमा एक–एक पोलमा भने ६ वटा बत्ती जडान गरिनेछ ।

बजार क्षेत्रभरि जडान गरिएका बत्तीको नियन्त्रण गर्ने प्रणाली भने भीमेश्वर नगरपालिका तथा विद्युत् प्राधिकरण दोलखा शाखामा जडान गरिनेछ । नियन्त्रण प्रणालीबाटै बत्ती बाल्ने तथा निभाउने सम्पूर्ण कार्य हुने भीमेश्वर नगरपालिकाले बताएको छ ।  स्मार्ट बत्ती जडानपछि बजार क्षेत्रमा राति हिँडडुल गर्न सहज हुनाका साथै बजारमा हुन सक्ने चोरी तथा अन्य अपराधजन्य घटनामा कमी आउने नगरबासीको अपेक्षा छ ।


पालिका प्रेस
थप जानकारी