स्थानीय तहको निर्वाचन भएको पाँच वर्ष पूरा हुँदै गर्दा सिन्धुपाल्चोकका १२ स्थानीय सरकार र १ सय ३ वडाका लागि ७३ वटा प्रशासनिक भवन निर्माण भएका छन् । भोटेकोसी गाउँपालिकाले हिन्दीमा ६ करोड रुपैयाँको गाउँपालिका भवन निर्माण गरेको छ । ५ मध्ये ३ वटा वडाको नयाँ भवनबाट काम सुरु भएको छ ।

बाह्रबिसे नगरपालिकाले सानो भवन तयार गरेको छ । ठाउँ अभावले भनेजस्तो भवन बनाउन सकेको छैन । ९ मध्ये ७ वटा वडाले नयाँ भवनबाट प्रशासनिक सेवा सञ्चालन गरिरहेका छन् ।

त्रिपुरासुन्दरी गाउँपालिकाले ४ करोड रुपैयाँ लागतको भवन तयार गर्दै छ । ६ वडामध्ये एउटा मात्रै नयाँ भवनमा सरेको छ । अरू पुरानै भवनमा छन् । लिसंखुपाखर गाउँपालिकाले पहिला १ करोड ५० लाख रुपैयाँमा भवन बनाएको छ । अहिले १४ करोड रुपैयाँ लागतमा अर्को ठूलो भवन बनाउँदै छ ।

बागमती प्रदेश र जिल्ला समन्वय समितिले दिएको रकमबाट भवन बनाउन लागेको हो । ७ मध्ये २ वटा वडाको नयाँ भवन तयार भएको छ । बलेफी गाउँपालिकाले ६ करोड रुपैयाँको नयाँ भवन तयार गरेको छ । ८ मध्ये ४ वटा वडामा नयाँ बनेका छन् भने ४ वटा वडा पुरानै भवनमा सञ्चालन भइरहेका छन् ।

जुगल गाउँपालिकाले पालिका भवन तयार गर्दै छ । ६ वटा वडाको नयाँ भवन निर्माण भइसकेको छ । सुनकोसी गाउँपालिकाले घर भाडामा लिएर कामकाज सञ्चालन गरिरहेको छ ।  पालिका भवन बनाउने ठाउँ विवादित भएकाले भवन निर्माण रोकिएको छ । ७ मध्ये ५ वटा वडा नयाँ भवनमा सरेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिकाले ७ करोड रुपैयाँको नगर भवन तयार गरेको छ । ९ वटा वटाको वडा भवन तयार भइसकेको छ । पूर्वाधारमा चौतारा नगर अगाडि छ । इन्द्रावती गाउँपालिकाले ६ करोड ५१ लाख रुपैयाँमा प्यागोडा शैलीमा आकर्षक भवन निर्माण गरेको छ । १० वटा वडा भवन तयार गरेको छ ।

मेलम्ची नगरपालिकाले ७ करोड रुपैयाँमा २ वटा नगर भवन बनाएको छ । १३ मध्ये ७ वटा वडा नयाँ भवनमा सरेका छन् । पाँचपोखरी थापाल गाउँपालिकाले १० करोड रुपैयाँमा पालिका भवन निर्माण गरिरहेको छ । २ वटा वडा भवन तयार गरेको छ । मेलम्ची खोलाको बाढीले ठूलो क्षति पु¥याएको हेलम्बु गाउँपालिकाले ३ वटा वडाको भवन तयार गरेको छ । गाउँपालिका भवन भने महत्त्वाकांक्षी योजनाका कारण अलपत्र परेको छ ।

पालिका भवन बनाउन ३५ करोड रुपैयाँ लागत लाग्ने गरी डिपिआर तयार भएकाले रकम अभाव भएको हो । संघीय सरकारले ९ करोड रुपैयाँसम्मको पालिका भवन बनाउन अनुमति दिएकाले बाँकी रकम विभिन्न स्रोतबाट जम्मा गरेर भवन बनाउने योजनामा रहेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।

पालिका प्रेस
थप जानकारी