०७२ भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिका भवन सिंहदरबार शैलीमा निर्माण गरेको छ । बारपाक सुलिकोट गाउँपालिकाले पालिका कार्यालय भवन अत्याधुनिक बनाएको हो ।

रातो र सेतो रङले पोतिएको यो भवन चिटिक्क र आकर्षक देखिन्छ । कुनै संघीय मन्त्रालयको भवनभन्दा कम छैन, पालिका भवन । बारपाक सुलिकोटले प्रशासकीय कार्य सम्पादन गर्न भवन निर्माण गरेको हो । गोरखाको भिरालो जमिन, उच्च डाँडो, डाँडाको टुप्पोमा चिटिक्क परेको आकर्षक भवन । झट्ट हेर्दा दरबारजस्तै देखिने यो भवनभित्र १६ वटा हल रहेका छन् ।

पछि आवश्यकताअनुसार पार्टेसन गर्न २ कोठा बराबर १ हल हुने गरी फिनिसिङ गरिएको छ । भवनको तीनतर्फ बाहिर निस्कने ढोका बनाइएको छ । तीन तलाको भवनमा सबै कोठा हलजस्तै ठूला बनाइएको गाउँपालिकाका इन्जिनियर अविनव गौतमले बताए ।  हाल ६ नम्बर वडामा भाडाको घरबाट सेवा सञ्चालन गरेको गाउँपालिकाले ६० रोपनी जग्गा खरिद गरी भवन निर्माण सुरु गरेको थियो । गण्डकी प्रदेश सरकार, जिल्ला समन्वय समिति र बारपाक सुलिकोट गाउँपालिकाको साझेदारीमा ५ करोड १० लाख रुपैयाँको लागतमा भवन निर्माण भएको हो ।

भवन निर्माणका लागि नवकान्तिपुर कन्स्ट्रक्सन कम्पनीले जिम्मा लिएको थियो । भवन निर्माणको काम निर्धारित समयभन्दा ढिलो ०७७ कात्तिकबाट सुरु भएको थियो । ठेकेदार कम्पनीले सम्झौताअनुसार भवन निर्माण सम्पन्न गरेको छ । कम्पनीले २१ मंसिर ०७८ मा भवन निर्माण सम्पन्न गरेको थियो ।

भवन निर्माणको बाहिरी काम सकिए पनि भित्री काम अभैm बाँकी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पनेरुले बताए । ‘भित्री डेकोरेसनको काम भइरहेको छ, सकिनेबित्तिकै नयाँ भवनबाट सेवा सुरु गर्छौं,’ उनले भने । भवन हस्तान्तरण भइनसकेको र डेकोरेसनको काम बाँकी रहेकोले हाल गाउँपालिकाको पुरानै भवनबाट कार्यसम्पादन भइरहेको पनेरुले बताए ।

बारपाक सुलिकोट गाउँपालिका साविकका बारपाक, स्वारा, स्वौरपानी, ताकुमाझलाकुरिबोट, ताकुकोट,पाचखुवा देउराली र पन्द्रुङ गाविस गाभेर बनाइएको हो । गाउँपालिका भवन नजिकै अर्को बहुउद्देश्य सभा हल पनि निर्माण भइरहेको छ । महिला र पुरुष चेन्जिङ रुम, शौचालय र १ सय १० जना अट्न सक्ने क्षमताको सभाहल निर्माण भइरहेको उनले बताए । उनका अनुसार माघ मसान्तसम्म भवन निर्माण सकिनेछ ।

पालिका प्रेस
थप जानकारी