मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा विद्युत् विस्तार योजना अधुरै रहेको छ । यहाँ चार वर्ष अघि थालिएको सो कार्य हालसम्म पूरा हुन सकेको छैन ।

विसं २०७५ मा विद्युत् विस्तारको काम एक वर्ष भित्र सम्पन्न गर्ने गरी अघि बढाइएको थियो । ठेकेदार र नेपाल विद्युत् प्राधिकरणको ढिलासुस्ती र लापरवाहीका कारण राक्सिराङ गाउँपालिकाका नौ वटै वडामा विद्युत् विस्तार अधुरै रहन गएको छ ।

काठको खम्बा विस्थापित गर्ने योजनाका साथ प्राधिकरणको खातामा सो गाउँपालिकाले एक करोड जम्मा गरेको थियो ।

उक्त रकममा प्राधिकरणले एक करोड थपेर काम अघि बढाएको थियो । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार पटकपटक ताकेता गर्दासमेत प्राधिकरणले विद्युतीकरणको काममा ध्यान दिएको छैन । प्राधिकरणको हेटौँडा वितरण केन्द्रको कार्यालयमा रहेको अभिलेखअनुसार गाउँपालिकाको खैराङ–खुर्कोट क्षेत्रमा ३४५ बिजुलीको पोल लगिएको छ । तर सो क्षेत्रमा ७५ पोल मात्र रहेको पाइएको छ ।

प्राधिकरणको प्रतिवेदन अभिलेखमा सबै काम भएको पाइए पनि सो गाउँपालिकाको विभिन्न स्थानमा खम्बा, तारलगायत सामग्री यत्रतत्र छरिएर रहेको अध्यक्ष मल्लले बताए ।

विद्युत् प्राधिकरण, ठेकेदार कम्पनी, कर्मचारी र वडाध्यक्षका कारण काममा ढिलाइ भएको अध्यक्ष मल्लको आरोप छ । सो क्षेत्रमा चेपाङ र तामाङ समुदायको बसोबास रहेको छ ।

पालिका प्रेस
थप जानकारी